ज्यान मारेर फरार महिला १३ वर्षपछि पक्राउ

0

खोटाङ, ३० असोज । ज्यान मारेर फरार खोटाङकी एक महिला १३ वर्षपछि पक्राउ परेकी छन् । विसं २०५९ असोज २ गते उदयपुरको आँपटार–९ का नवराज रायमाझीको हत्या गरेर फरार राजापानी– ७ की ३० वर्षीया परिमाया राई पक्राउ परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएका प्रहरी नायब निरीक्षक दीपेन्द्रकुमार चौधरीको विशेष टोलीले अभियुक्तलाई लुकीछिपी घरैमा बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो ।
राजापानी–७ का नीरबहादुर राई, परिमायालगायत पाँच जनाको समूहको लात्ती, मुड्की र लाँठी प्रहारबाट रायमाझीको मृत्यु भएको प्रहरीले जनाएको छ । रायमाझीको हत्यामा संलग्न भएकामा परिमायालाई जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको थियो । पक्राउ परेका परिमायालाई शुक्रबार जिल्ला अदालतमा पेस गरिएपछि बिदाका कारण अदालती कामकाज बन्द भएकाले प्रहरी हिरासतमा राखिएको छ ।
अदालतकै आदेशमा पक्राउ गरिएका परिमायालाई बिदा सकिएलगत्तै अदालतमा उपस्थित गराइने माझीको भनाइ छ । विभिन्न मुद्दामा हालसम्म फरार रहेका दोषीलाई पक्राउ गर्न अदालतले साउन २७ गते पठाएको पत्रअनुसार परिमायालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.