अन्तर–व्यवस्थापिका संघ (आइपियू)को १४८औँ महासभामा सहभागी हुन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहित १० सदस्यीय प्रतिनिधिमण्डल स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेको छ।
आइपियूको प्रधान कार्यालय रहेको जेनेभामा मार्च २३–२७ (१०–१४ चैत)सम्म सञ्चालन हुने महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल बिहीबार बेलुका कतार एयरलायन्सको जहाजमार्फत दोहा हुँदै जेनेभातर्फ प्रस्थान गरेको संसद् सचिवालयले जनाएको छ।
यसैगरी, संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेय, संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाईं र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई जेनेभा प्रस्थान गरेका हुन्।
आइपियूको फोरम अफ योङ पार्लियामेन्टरियनमा सन्तोष परियार र महेशकुमार बर्तौला तथा फोरम अफ वुमेन पार्लियामेन्टरियनमा गंगाकुमारी बेल्बासेले सहभागिता जनाउने सचिवालयले जनाएको छ। यसबाहेक आइपियूका स्थायी समितिका छलफलहरूमा समेत प्रतिनिधिमण्डलको सहभागिता रहनेछ।
आइपियूको महासभासँगै संसद्का महासचिवहरूको संगठन एसोसिएसन अफ सेक्रेटरी जनरल अफ पार्लियामेन्टका बैठकहरू सञ्चालन हुनेछन्। ती बैठकहरूमा संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले सहभागिता जनाउने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। महासभामा सहभागी भई प्रतिनिधिमण्डल १६ चैतमा स्वदेश फर्किने कार्यक्रम रहेको छ।