गृहमन्त्री लामिछानेले राजीनामा दिनैपर्ने कांग्रेसकाे अडान

0

नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको थियो । प्रतिनिधि सभाको आजको बैठकको शुरुमै कांग्रेसका सांसदले उभिएर विरोध जनाएपछि सभामुखले कांग्रेसका सांसद दीपक गिरीलाई बोल्न समय दिनुभएको थियो ।

आफ्ना भनाइ राख्दै गिरीले गृहमन्त्री लामिछानेको राजीनामा माग्नुभएको हो । पोखराको सूर्यदर्शन सहकारीबाट ठगिएकाहरूले अहिलेका गृहमन्त्री लामिछानेविरुद्ध पनि पोखरामा उजुरी दिएको तर उहाँमाथि अनुसन्धान हुनुको साटो मन्त्री पदमा पुगेको भन्दै नेपाली कांग्रेसले विरोध गरेको छ । निष्पक्ष छानबिन प्रक्रियाबाट भाग्नकै लागि लामिछाने गृहमन्त्री बनेको कांग्रेसका सांसद दीपक गिरीले आरोप लगाउनुभयो ।

यस्तै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्नुभएको छ । उहाँले प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्नु आवश्यक नरहेको भन्ने जवाफले आफूहरूको चित्त नबुझेको बताउनुभयो । उहाँले गृहमन्त्रीमाथि छानबिन गर्न पर्याप्त प्रमाण भएको जिकिर गर्नुभयो ।

प्रमुख सचेतक लेखकले सरकारले कांग्रेसको मागलाई गम्भीरतापूर्वक नलिएमा सरकार आफैँले संसद् अवरोध गरेको मानिने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.