सरकारलाई सफल बनाउने काममा लाग्न जनसंगठनलाई एमाले नेतृत्वको निर्देशन

0

नेकपा एमालेको शीर्ष नेतृत्वले पार्टीको अग्रसरतामा बनेको नयाँ समीकरण र सहकार्यको पाँचदलीय सरकारलाई सहयोग गर्न जनसंगठनहरूलाई निर्देशन दिएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा मोर्चा संगठनमा आबद्ध २३ जनसंगठनका प्रमुखहरूलाई बोलाएर महासचिव शंकर पोखरेलले सोमबार त्यस्तो निर्देशन दिएका हुन्।

मोर्चा संगठनको बैठकमा पोखरेलले नयाँ समीरणको कारण र बदलिएको परिस्थितिमा जनसंगठनहरूको भूमिकाबारे प्रशिक्षित गरेका थिए।

पोखरेलले गठबन्धन नभत्किएसम्म राष्ट्रिय हित नहुने भएकाले सरकार परिवर्तन गर्नुपर्ने पार्टीको सोच र कांग्रेससँगको सहकार्य गलत भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ‘रिअलाइजेसन’का कारण नयाँ समीकरण र सहकार्यमा एमाले–माओवादीसहितको सरकार बनेको बताए।

नयाँ समीकरण र सहकार्य राष्ट्रिय हित, विकास र सुशासनको पक्षमा रहेको भन्दै पोखरेलले यसलाई अझ बलियो र फराकिलो बनाउने प्रयास भइरहेको पनि जानकारी गराए।

‘हामीले गठबन्धन नभनेर नयाँ समीकरण, नयाँ सहकार्य भनेका छौँ। कतिपयले यसलाई वामपन्थी सरकार भनेका छन्। हामीले मूलतः अहिले जनताको निराशालाई बदलेर सुशासन र विकासको पक्षमा रहेका दलहरूको बीचमा सहकार्य भनेका छौँ। त्यो सुरु भएको छ,’ पोखरेलले भने, ‘नयाँ समीकरण र सहकार्यलाई बलियो बनाउन सबैलाई विश्वासमा लिएर मिलाएर अघि बढ्ने मान्यतासहित बढेका छौँ।’

उनले सरकारलाई राष्ट्रिय हित, विकास, सुशासन र सामाजिक न्यायका पक्षमा काम गर्ने गरी जनतासँग जोड्ने भूमिका खेल्न निर्देशनसमेत दिए।

Leave A Reply

Your email address will not be published.