शक्ति राष्ट्रबिचको टकरावले साना मुलुकको अस्तित्वको चुनौती : प्रधानसेनापति शर्मा

0

काठमाडौँ \ प्रधानसेनापति प्रभुराम शर्माले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, सीमा सुरक्षा, आर्थिक समुन्नति र समृद्धिका लागि साझा प्रयास र प्रतिबद्धताको खाँचो रहेको बताएका छन् ।

रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजित सिसं ९ उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम उद्घाटन गर्दै उनले त्यसका लागि समान धारणा, बुझाइ, एकता र समन्वय आवश्यक रहेको उल्लेख गरे ।

प्रधानसेनापति  शर्माले भने, “बाह्य तथा आन्तरिक सुरक्षा वातावरणको अध्ययन र विश्लेषण गर्दै राष्ट्रिय हित तथा स्वार्थको संरक्षणका लागि महत्वपूर्ण नीति तर्जुमा र कार्यान्वयन गर्नुपर्ने  आवश्यकता छ ।” प्रत्येक राष्ट्र आफ्ना आधारभूत मूल्यमान्यताको संरक्षणसहित राष्ट्रिय पहिचान, सार्वभौमसत्ता र अखण्डता कायम गर्दै जनतालाई सुरक्षित, भयरहित एवं आत्मसम्मानपूर्ण जीवन जिउन दिनेतर्फ सचेत रहनुपर्ने आवश्यकता उहाँले औँल्याए ।
“राष्ट्रले पनि जनतालाई भौगोलिक, सामाजिक, आर्थिक एवं राजनीतिक रुपमा पूर्ण सुरक्षित राख्न विभिन्न नीति तथा रणनीति अख्तियार गर्दै आइरहेको छ”, प्रधानसेनापति शर्माले भने ।  अन्तर्राष्ट्रिय मञ्चमा हाल भइरहेको द्वन्द्व एवं युद्धका घटनाले शक्ति राष्ट्रबीचको ध्रुवीकरण बढ्दै गएको आभाष भएको उल्लेख गर्दै उहाँले विश्वका शक्ति राष्ट्रबीचको प्रत्यक्ष/परोक्ष टकरावले साना मुलुकलाई आफ्नो अस्तित्वलाई अक्षुण्ण राख्न चुनौती थपिएको बताए ।
प्रधानसेनापति शर्माले नेपालको सन्दर्भमा, संवेदनशील भूराजनीति, खुला सिमाना र विभिन्न शक्ति राष्ट्रको स्वार्थ पनि राष्ट्रिय सुरक्षा चुनौतीको रुपमा हेरिने गरिएको बताए । आन्तरिकरुपमा बढ्दै गइरहेको धार्मिक तथा साम्प्रदायिक विवादका साथै सुषुप्त अवस्थामा रहेका केही विखण्डनवादी वा पृथकतावादी समूहका गतिविधिले राष्ट्रिय सुरक्षामा प्रभाव पारिरहेको उनको भनाइ थियो ।
Leave A Reply

Your email address will not be published.