गठबन्धन परिवर्तनसँगै प्रतिपक्षमा पुगेको कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षको उम्मेदवारीमार्फत नयाँ गठबन्धन अस्तित्वमा ल्याउने प्रयास थालेको छ । कांग्रेसले परिवर्तित परिस्थितिमा लोकतान्त्रिक गठबन्धनसँग छलफलका आधारमा मात्रै उम्मेदवार तय गर्ने रणनीति लिएको छ । राष्ट्रिय सभाको रिक्त अध्यक्ष पदका लागि २९ फागुनमा निर्वाचन हुँदै छ ।
सभापति शेरबहादुर देउवाले शनिबार पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा पार्टीको उम्मेदवार र रणनीतिबारे छलफल गरेका थिए । बैठकमा सहभागी नेता अर्जुनरसिंह केसीका अनुसार गठबन्धनमा छलफलपछि मात्रै उम्मेदवार टुंगो लगाउने तयारी छ । प्रतिनिधिसभामा पहिलो दल रहेको कांग्रेस राष्ट्रिय सभामा दोस्रो दलको हैसियतमा छ ।
एमाले–माओवादी गठबन्धन बनेपछि सत्ताबाट प्रतिपक्षमा पुगेको कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत पाउनबाट रोक्न सरकारबाहिर रहेका दलहरूसँग छलफल गरिरेहको छ । लोसपा नेता डा. सुरेन्द्र यादव राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा पनि लोकतान्त्रिक दलहरूलाई समेटेर जाने विषयमा छलफल भइरहेको बताए । ‘हामी निर्वाचनमा सँगै थियौँ । अप्रत्याशित रूपमा गठबन्धन तोडिएपछि पनि एकै ठाउँमा रहेर जाने विषयमा सबै विषयमा छलफल गरिरहेका छौँ,’ उनले भने ।
राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षमा परिणाम आफ्नो पक्षमा नआउने अवस्था रहे पनि कांग्रेसले अन्य दलको समेत समर्थन जुटाएर उम्मेदवारी दिन चाहेको छ । हाल राष्ट्रिय सभा अध्यक्ष मात्र रिक्त छ । तर, एमालेसँगको सहमतिमा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले पाउने सहमति भएकाले हाल राष्ट्रिय सभा उपाध्यक्ष रहेकी उर्मिला अर्यालको राजीनामा आउनेछ ।
१० माघमा कांग्रेस–माओवादी गठबन्धन गरेर निर्वाचनमा गएको थियो । यससँगै राष्ट्रिय सभामा शक्ति सन्तुलनमा फेरबदल आएको थियो । राष्ट्रपतिबाट एक सिट मनोनीत हुन बाँकी छ । तत्कालीन समयमा गठबन्धनबीच सो सिट जनमोर्चालाई दिने सहमति बनेको थियो । साथै, राष्ट्रिय सभा अध्यक्षमा कांग्रेस नेता कृष्ण सिटौलालाई अगाडि सार्ने सहमति बनेको थियो । तर, राष्ट्रिय सभामा कोशी प्रदेशमा गठबन्धनबाट उम्मेदवार भएका कृष्णप्रसाद सिटौला निर्वाचित हुँदा महिलातर्फ माओवादीकी चम्पादेवी कार्की पराजित भइन् ।
माओवादी उम्मेदवार पराजित भएर एमाले उम्मेदवार निर्वाचित भएपछि माओवादीले कांग्रेसबाट धोका भएको भन्दै सिटौलालाई अध्यक्षमा अगाडि सार्ने सहमतिअनुसार अगाडि बढ्न नसक्ने बताउँदै आएको थियो । मुख्यमन्त्री चयन प्रक्रियामा धोका पाएको माओवादीले राष्ट्रिय सभा निर्वाचनमा दोस्रो धोका थियो । यसबाट शंकाको दायरा बढेको नेताहरू बताउँछन् । अन्ततः राष्ट्रिय सभा निर्वाचनमा आइपुग्दा गठबन्धन टुट्नुको सूत्रपात बन्न पुग्यो । गठबन्धन टुट्नुको प्रमुख कारणको रूपमा माओवादीले कोशी प्रकरणलाई उल्लेख गरेको छ ।
वामपन्थी शक्तिहरू एकीकृत भएपछि लगत्तै लोकतान्त्रिक शक्तिलाई एकीकृत गरेर सरकारलाई विश्वासको मतका आधारमा संकटमा पार्ने रणनीतिअनुसार वैकल्पिक गठबन्धनको कसरत थालेको थियो । सभापति देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर तत्काल सरकारमा जान हतार नगर्न आग्रह गरेका थिए । साथै, प्रधानमन्त्री प्रचण्डले धोका दिएको निष्कर्षसहित पूर्वगठबन्धनका बाँकी घटकलाई जुटाउने प्रयास गरिरहेको छ । कांग्रेसले लोसपा, जनमत पार्टी र नागरिक उन्मुक्तिसँग समेत छलफल गरिरहेको छ ।-नयाँपत्रिका