वैकल्पिक गठबन्धनको कसरतमा कांग्रेस

0

अप्रत्याशित राजनीतिक घटनाक्रमसँगै गठबन्धन भत्किएपछि विपक्षी बेन्चमा पुगेको कांग्रेसले वैकल्पिक गठबन्धनको कसरत थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट धोका भएको निष्कर्ष निकालेको कांग्रेस, सरकारले विश्वासको मत लिने वेलासम्म वैकल्पिक गठबन्धन गराउने गरी दौडधुपमा लागेको हो ।

कांग्रेस कार्यसम्पादन समिति बैठकले मंगलबार गठबन्धन तोडिनु अप्रत्याशित धोका रहेको र नयाँ गठबन्धन निर्माणले राजनीतिक अस्थिरताको सिर्जना गरेको विश्लेषण गर्दै सशक्त र प्रभावकारी प्रतिपक्षको भूमिका निभाउने निर्णय गरेको थियो । तर, बुधबार कांग्रेसको मूल नेतृत्व वैकल्पिक गठबन्धन बनाउन दौडधुपमा व्यस्त देखियो । यति मात्र होइन, संवाद जारी राख्ने कांग्रेस नेताहरूले बताएका छन् ।

बुधबार बिहान सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र प्रमुख सचेतक रमेश लेखकलाई लिएर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वरमा पुगेका थिए । बिरलै अरूको घर धाउने देउवाको नेपालको स्वास्थ्य अवस्था बुझ्न भन्दै उनको घरमा पुगेपछि नयाँ गठबन्धनका नेताहरू पनि झस्किए । सोमबार प्रधानमन्त्री प्रचण्ड एक्लैले र मंगलबार एमाले अध्यक्ष केपी ओलीसहित नेपालसँग भेट गरेका थिए । भोलिपल्टै कांग्रेस सभापति देउवाले नेपाललाई भेट्नु सशक्त र प्रभावकारी प्रतिपक्षको भूमिका निभाउने निर्णयसँग मेल खाने खालको थिएन ।
भेटमा सहभागी लेखकले परिवर्तित राजनीतिक अवस्थाबारे छलफल भएको र भेटलाई निरन्तरता दिने प्रतिक्रिया दिए । ‘भेटमा परिवर्तित राजनीतिक विषयमा कुराकानी भयो । कुराकानी सकारात्मक भएको  छ, यसलाई निरन्तरता दिन्छौँ,’ भेटपछि कांग्रेस नेता लेखकले भने ।

स्रोतका अनुसार नेपालसँग सभापति देउवाले सरकारमा जान हतार नगर्न भनेका थिए । उनले प्रधानमन्त्री प्रचण्डले धोका दिएको भन्दै पूर्वगठबन्धनका बाँकी घटक एक ठाउँमा रहनुपर्ने आवश्यकता रहेको बताएका थिए । यस क्रममा जसपा र एकीकृत समाजवादी, जनमोर्चा सरकारमा जान हतार गर्न नहुने देउवाको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.