काँग्रेसले राष्ट्रपतिलगायत मुख्य पदमा उम्मेदवारी दिने

0

काठमाडौं, २७ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले अन्य राजनीतिक दलसँग छलफल गरेर आफ्नो पार्टीले राष्ट्रपतिलगायत अन्य मुख्य पदमा उम्मेदवारी दिने बताउनुभएको छ । रिपोटर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले काँग्रेस पार्टी सबैभन्दा ठूलो राजनीतिक दल भएकाले राष्ट्रपतिलगायत विभिन्न पदमा हुने निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेको बताउनुभएको हो ।
पूर्व अर्थमन्त्री महतले भन्नुभयो, “संसद्मा कुनै पनि पार्टीको बहुमत छैन । काँग्रेस मुख्य पार्टी भएकाले मुख्य पदमा हाम्रो दाबी रहन्छ । राजनीतिक दलसँग छलफल गरेर पद र व्यक्तिको नाम निर्धारण गर्नेछौँ ।”
संविधान जारी गर्नुभन्दा बढी यसको कार्यान्वयनमा चुनौती रहेको उल्लेख गर्दै उहाँले आन्दोलनरत दललाई संवैधानिक प्रक्रियामा ल्याउन पनि कुनै न कुनै ठाउँमा सहमति गर्नुपर्ने भएकाले पनि आफ्नो दलको उम्मेदवारीले प्राथमिकता पाउने दाबी गर्नुभयो ।
देश आर्थिक सङ्कटमा परेको र त्यसलाई माथि उठाउन दरिलो प्रतिपक्षको आवश्यक पर्ने भएकाले आफ्नो पार्टीले सरकारलाई गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने डा महतको भनाइ थियो ।
उहाँले नेपाली काँग्रेसको नेतृत्वमा बनेको सरकारले भूकम्पछिको पुनःनिर्माण सम्मेलन गरेर रु चार खर्ब ४० अर्ब बराबरको प्रतिबद्धता आएको त्यसलाई विभिन्न तहमा कार्यान्वयन गर्न जरुरी रहेको बताउनुभयो । प्रधानमन्त्रीको निर्वाचनको नतिजाले पार्टीका कार्यकर्ता तथा समर्थकलाई दुखित बनाएको उल्लेख गर्दै उहाँले त्यसमा पार्टीको विभिन्न तहमा छलफल हुने धारणा राख्नुभयो ।

Leave A Reply

Your email address will not be published.