राष्ट्रपतिबाट प्रमाणपत्र प्रदान

0

काठमाडौँ \  राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सोलुखुम्बुको कालापत्थरमा सर्वाधिक उचाइमा कोरियोग्राफीको कीर्तिमान राख्दै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराउनुभएकी छिरिङ शेर्पालाई ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ को प्रमाणपत्र प्रदान गर्नुभएको छ । कोरियोग्राफर छिरिङ र जगदीश गुरुङ (जेडी तमु) ले सन् २०२२ नोभेम्बर १७ मा पाँच हजार २७८ मिटरको उचाइमा कोरियोग्राफी गर्दै ‘द हाइएस्ट अल्टिच्युड कोरियोग्राफ्ड डान्स अन ल्यान्ड (पेयर)’ को कीर्तिमान राख्नुभएको थियो ।

राष्ट्रपति पौडेलले सन् २०२४ को अप्रिल–मेमा सगरमाथासमेत आरोहण गर्न लाग्नुभएकी छिरिङलाई आरोहणको शुभकामना पनि दिनुभएको थियो । “राष्ट्रपतिले एक महिलाले पाएको यो उपलब्धि देशकै लागि गर्वको कुरा रहेको बताउनुभयो,” छिरिङले भन्नुभयो, “यो सम्मानले मेरो एउटा सपना पूरा भएको छ ।” राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा सङ्घीय सांसद एवं अर्थ समिति सभापति सन्तोष चालिसे, बागमती प्रदेशका सांसद छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपकप्रसाद रिसाललगायतको उपस्थिति थियो ।

छिरिङले आफूले हिमाल आरोहणका क्रममा ज्यान गुमाएका शेर्पा समुदायप्रति समर्पित गर्दै सगरमाथा आरोहण गर्न लागेको बताउनुभयो । “हिमाल आरोहणका क्रममा शेर्पा समुदायका धेरै व्यक्तिले ज्यान गुमाउनु परेको छ । उनीहरूले राज्यका तर्फबाट केही राहत पनि पाउन सकेका छैनन् । आर्थिक अवस्था नाजुक बन्दै गएको छ । त्यस कारण उनीहरूको आवाजलाई बुलन्द पार्नका लागि सगरमाथा आरोहण गर्न लागेकी हुँ,” उहाँले भन्नुभयो ।

दर्जन म्युजिक भिडियोमा समेत अभिनय गरिसक्नुभएकी छिरिङ शेर्पा समुदायकी पहिलो अभिनेतृ पनि हुनुहुन्छ । शेर्पा चलचित्र ‘तिन्छेन फामा’ मा अभिनय गर्नुभएकी उहाँले चलचित्र ‘कार्साङ’ मार्फत नेपाली रजतपटमा पदार्पण गर्दै हु्नुहुन्छ । उहाँ टेलिभिजन रियालिटी सो ‘डान्सिङ स्टार नेपाल सिजन–२’ को विजेतासमेत हुनुहुन्छ ।

Leave A Reply

Your email address will not be published.