काठमाडौँ \ नेपाली कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको तयारीलाई तीव्रता दिएको छ । कांग्रेसले ‘नीति अधिवेशन’का रूपमा लिएको महासमिति बैठकलाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालन गर्न विभिन्न नौ उपसमिति गठन गरी तयारीलाई तीव्रता दिएको हो ।
गोदावरीमा चार दिनसम्म चल्ने महासमितिलाई व्यवस्थित एवं प्रभावकारी ढङ्गले सञ्चालन गर्न पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा रहेको मूल आयोजक समितिले छुट्टाछुट्टै उपसमिति निर्माण गरी काम अगाडि बढाएको हो ।
कांग्रेसले महासमितिलाई सम्पन्न गर्न प्रचार–प्रसार उपसमितिको संयोजकमा पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिको संयोजकमा केन्द्रीय सदस्य मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिमा केन्द्रीय सदस्य उदयशमरशेर राणा, स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा केन्द्रीय सदस्य जीतजङ्ग बस्नेतलाई जिम्मेवारी दिएको जनाइएको छ ।
यस्तै स्वास्थ्य समन्वय उपसमितिको संयोजकमा केन्द्रीय सदस्य उर्मिला नेपाल केसी, यातायात व्यवस्थापन उपसमितिको संयोजकमा केन्द्रीय सदस्य धना खतिवडा, आर्थिक उपसमितिको संयोजकमा केन्द्रीय सदस्य अनिलकुमार रुङ्गटा, प्रदेश समन्वय उपसमितिको संयोजकमा बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिमा ललितपुर कांग्रेसका सभापति जीतेन्द्र श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको कांग्रेसले जनाएको छ ।
स्वदेश तथा विदेशमा रहेका नेपालीले मात्रै नभई मित्रराष्ट्रले समेत चासोका साथ हेर्ने कांग्रेसको महासमितिको बैठक भव्य, सभ्य, व्यवस्थित र परिणाममुखी बनाउन कांग्रेसले पछिल्लो समय सबै उपसमितिलाई पूर्णता दिएर काम सुरु गरिसकेको बताइएको छ । पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख विश्वकर्माले पार्टीले गठन गरेका विभिन्न उपसमितिले आफ्नो काम सुरु गरिसकेको जानकारी दिनुभयो ।
महासमिति बैठकमा प्रस्तुत गरिने नीतिगत प्रस्ताव तयार गर्न पार्टी उपसभापति एवं नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी गठन गरको र उक्त समितिमा पार्टी केन्द्रीय पदाधिकारी तथा पार्टी प्रवक्तालाई राखिएको छ । बैठकमा पार्टीको साङ्गठनिक प्रतिवेदन पार्टीका महामन्त्री गगनकुमार थापा र समसामयिक राजनीतिक प्रस्ताव पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्ने कार्यक्रम छ ।