नेपाली कांग्रेस ‘मास बेस’ पार्टी हो : सभापति देउवा

0

पोखरा \ नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस ‘क्याडर बेस’ नभई ‘मास बेस’ पार्टी भएको बताउनुभएको छ । कार्यकर्ताले पार्टीलाई क्याडर बेस वा मास बेसमा अगाडि बढाउने भन्ने विषयमा बहस गरिरहेको समयमा नेपाली कांग्रेस कास्कीको जिल्ला सम्मेलनको पोखरामा मंगलबार उद्घाटन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । सभापति देउवाले भन्नुभयो, ‘‘नेपाली कांग्रेस क्याडर बेस नभई ‘मास बेस’ पार्टी हो ।’’

सभापति देउवाले नेपाली कांग्रेसको सदस्यता साधारण र क्रियाशील गरी दुई प्रकारको भएको प्रष्ट पार्नुभयो । उहाँले आगामी दिनमा पार्टीले दुवै प्रकारका सदस्य खुला गरी पार्टीलाई सङ्ख्यात्मक र गुणात्मक रूपमा बलियो बनाउन कार्यकर्तालाई निर्देशर्नेसमेत दिनुभयो । उहाँले भन्नुभयो, ‘‘जनतानै सार्वभौमसत्ता सम्पन्न मालिक हुन्, जनताको मन जितेर पार्टीमा झैझगडा नगरी तपाईँहरू गाउँगाउँसम्म पुग्नैपर्छ ।”

राजनीति गर्नु भनेको जनताको सेवा गर्नु हो भन्दै सेवाका लागि सत्ता चाहिने र त्यसको सदुपयोग गर्दै जनताको मन जित्नुपर्नेमा सभापति देउवाले जोड दिनुभएको छ । उहाँले वर्तमान अवस्थामा एउटै पार्टीले बहुमत ल्याउन कठिन भएकाले गठबन्धनमा जानुपरेको बाध्यात्मक अवस्थाका बारेमा कार्यकर्तालाई बताउँदै पार्टीलाई सुदृढ बनाएर जान सके आगामी निर्वाचनमा बहुमत ल्याउन सकिने उल्लेख गर्नुभयो । उहाँले त्यो अभियानको थालनी कास्कीबाट गर्न निर्देशनसमेत दिनुभयो ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता देउवाले पोखराका ताललगायत प्राकृतिक सम्पदाको संरक्षणमा जोड दिनुभयो । उहाँले पोखरालाई पर्यटकीय राजधानीका रूपमा विकास गर्न पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा ठुला जहाज नभए पनि साना जहाज ल्याएर विदेशी पर्यटक भित्र्याउनुपर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.