तमु समाज बेल्जियमले मनायो ल्होसार,

0

तमु संस्कृतिको महत्वपूर्ण पर्ब ‘ल्होसार’ बेल्जियममा बिभिन्न साँस्कृतिक र मनोरंजनात्मक कार्यक्रम गरेर मानाइएकोछ । तमु समाज बेल्जियमले आयोजना गरेको २६०८ औ तमु ल्होसारमा भेषभूषा, संस्कार र संस्कृति झल्कने सांस्कृतिक झाँकी, पूजापाठका साथै सांस्कृतिक कार्यक्रम सहित तमु नयाँ बर्ष २६०८ को शुभकामना साटासाट गर्दै मानाइएको हो ।

बेल्जियमको लुभेन शहरमा भएको कार्यक्रममा बेल्जियममा बसोबास गर्ने गुरुङ समुदायका साथै बिभिन्न सामाजिक र सामुदायिक संघ संस्थाहरुको सहभगिता रहेको थियो । विभिन्न परम्परागत भेषभुषामा सजिएका गुरुङ समुदायका महिला र पुरुषहरु एबम बालबालिकाहरुको उपस्थितिले कार्यक्रम निकै मनमोहक देखिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी, बिशेष अतिथि एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटा,आदिबासी जनजाती महासंघ बेल्जियमका अध्यक्ष बीरमान घर्ती मगर र समाजका अध्यक्ष होम गुरुङ , समाजका अग्रज अबिभाबक क्याप्टेन जोगमान गुरुङ, संस्थापक अध्यक्ष मिन गुरुङ द्वारा बिशेष पूजा र दीप प्रज्वलन गरेर उद्घाटन गरिएको कार्यक्रम, नेपाली राष्ट्रिय गीत र गुरुङ भाषाको राष्ट्रिय गीत बजाउदै सुरु भएको थियो ।

तमु ल्होसारको शुभकामना दिदै प्रमुख अतिथि राजदुत राजभन्डारीले साँस्कृतिक सम्पदाको धनी तमु समुदायले प्रबासमा आफ्नो कला र संस्क्रिति झल्कने गरी आयोजना गरेको भब्य कार्यक्रममा सहभागि हुँदा खुशी लागेको बताउनु भयो ।

गैर आबासीय नेपाली संघ बेल्जियमका अध्यक्ष सीता सापकोटाले नेपाल राष्ट्रको निर्माण देखि आज सम्म गुरुङ समुदायले दिएको योगदान र बिदेशमा वीर गोर्खालीको पहिचान बनाउन यो समुदायको कुर्बानीले सबै नेपालीको शीर ठाडो बनाएको छ भन्नु भयो । बेल्जियमको नेपाली समाजलाई एकताबद्ध बनाएर अघि बढ्न तमु समाजको भूमिका अग्रणी रहने अपेक्षा राख्नु भयो ।
आदिबासी जनजाती महसंघ बेल्जियमका अध्यक्ष बीरमान मगरले जातीय स्वायतत्ताले पहिचान स्थापित हुन्छ भन्दै आफ्नो परम्परा अनुसार पर्ब मनाएर तमु समाजले बिदेशमा नेपाली संस्क्रिति र पहिचान बचाएकोछ भन्नु भयो ।

सोही कार्यक्रममा तमु समाज बेल्जियमको स्मारिकाको दोश्रो अंक ”आशिमाला-२” र समाजका पूर्व अध्यक्ष पदम गुरुङ ‘प्रबासी’ले लेख्नु भएको गुरुङ भाषाको अन्य तीन भाषा-  नेपाली,अग्रेजी र नेदरल्यान्डमा अर्थ खोज्न मिल्ने शब्दकोष ‘नमस्ते’को बिमोचन गरिएको थियो । आशिमाला २ को सम्पादन मनिराज गुरुङले र  प्रकाशनको  संयोजन समाजका पूर्व अध्यक्ष बालेन्द्र गुरुङले गर्नु भएकोछ ।

नन्द घले संयोजक भएको ब्यबस्थापन समितिले कार्यक्रमको आकर्षक ब्यबस्थापन गरेको थियो । ब्यबस्थापनमा सहयोग गर्ने र प्रायोजकहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।

ल्होसार कार्यक्रममा उपस्थित अतिथिहरुलाई संस्थाको तर्फबाट उपाध्यक्ष सुर्य गुरुङ र आमा समुहकी प्रमुख मन्दिरा गुरुङले स्वागत गर्नु भएको थियो । उपाध्यक्ष  गुरुङले तमु संस्क्रिति र संस्कारको बारेमा बिबेचना गर्नु भएको थियो ।

समाजका अध्यक्ष होम गुरुङले उपस्थित अतिथिहरु, प्रायोजकहरु र सहयोगिहरु लगायत कार्यक्रम सफल बनाउन योगदान दिने सबैलाई धन्यबाद दिदै मिलेर बसेको नेपाली समाजलाई बिभाजन गर्ने प्रयास कतैबाट पनि नहोस् भन्नु भयो ।

कार्यक्रमको संचालन महासचिब चित्रजङ गुरुङ, सचिब उमा गुरुङ र साँस्कृतिक कार्यकमको संचालन रिचा गुरुङले गर्नु भएको थियो ।

गायक नारायण धिताल, दुर्गा गुरुङ र गायिका अनु गुरुङ, अनिता घले गुरुङ लगायतले प्रस्तुती दिएको कार्यक्रममा बिभिन्न साँस्कृतिक नाचहरु प्रस्तुत गरिएको थिए ।

Leave A Reply

Your email address will not be published.