राष्ट्रिय सभा चुनावका लागि मतदाता नामावली स्वीकृत

0

आउँदाे माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि निर्वाचन आयाेगले मतदाता नामावली स्वीकृत गरेकाे छ ।

राष्ट्रिय सभा सदस्य चुनावमा प्रदेश सभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयर मतदाता हुने कानुनी व्यवस्था भए बमोजिम प्रदेशसभा सदस्य पाँच सय ४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयर एक हजार चार सय ९८ गरी दुई हजार ४७ जनाको मतदाता नामावली स्वीकृत भएको हो ।

स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यतर्फको कुल मतदाता पाँच सय ५० मध्ये निधन भएका प्रदेश सभा सदस्य एक जनाको नाम हटाई पाँच सय ४९ जना कायम गरिएको छ । त्यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरतर्फको कुल मतदाता एक हजार पाँच सय छ मध्ये निधन भएका गाउँपालिका अध्यक्ष एक, उपाध्यक्ष एक, नगरपालिका उपमेयर एक र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष एक, नगरपालिकाका मेयर चार गरी आठ जनाकाे नाम हटाई एक हजार चार सय ९८ जनाको नामावली स्वीकृत भएकाे छ । स्वीकृत मतदाता नामावली आयोगको वेबसाइटमा समेत प्रकाशन गरिएको छ ।

निर्वाचन कार्यक्रम बमोजिम आउँदाे पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा स्वीकृत भएकाे मतदाता नामावली प्रकाशित हुनेछ र प्रकाशित मतदाता नामावलीमा कुनै मतदाताको नाम समावेश हुन छुटेको भए नाम समावेश गर्न, नाम समावेश भएको व्यक्तिको नाम, थर, उमेर, पद आदि विवरण सच्याउनुपर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिनेछ भने पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

उल्लिखित मतदातामध्ये प्रदेश सभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको मतभार १९ रहेकोले आउँदाे माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि प्रदेश सभा सदस्यको कुल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरकाे कुल मतभार २८ हजार चार सय ६२ गरी जम्मा ५७ हजार पाँच सय ५९ मतभार रहेको छ ।

Leave A Reply

Your email address will not be published.