पुस १० देखि चितवनमा हात्ती महोत्सव हुने

0

काठमाडौँ \  पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चितवनमा ‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ आयोजना हुने भएको छ । कोभिड-१९ का कारण रोकिएको महोत्सव यही पुस १० देखि १४ गतेसम्म हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

होटल सङ्घ नेपाल (हान) अन्तर्गतको क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन संरक्षण संस्था र रेष्टुरेन्ट एन्ड बार एसोसिएसनको सह–आयोजनामा १७ औँ संस्करणको महोत्सव हुन लागेको हो । यस पटकको महोत्सवमा विगतमा जस्तो हात्ती पोलो, हात्ती दौडजस्ता प्रतियोगिता भने नहुने आयोजकले जनाएको छ ।

हात्तीको शोषण भएको भनी पशुअधिकारकर्मीले विषय उठाएपछि यो पटक हात्तीलाई कष्ट हुने किसिमका  प्रतियोगिता नहुने बताइएको हो । सङ्घका अनुसार यस पटक हात्ती सुन्दरी प्रतियोगिता, हात्तीका लागि वनभोज, स्वदेशी र विदेशी पर्यटन व्यवसायीसँग बिटुबी सहमति, सांस्कृतिक झाँकीलगायत कार्यक्रमको तालिका रहेको छ ।

पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष विनायक शाहले कोभिडपछि लयमा फर्किरहेको मुलुकको पर्यटनलाई थप गतिशील बनाउन महोत्सवले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिले ३५ लाख पर्यटकलाई सेवा दिने पूर्वाधार बनेको र पर्यटन पूर्वाधारमा खर्बौँ लगानी भइसकेकाले ती पूर्वाधारबाट प्रतिफल लिने गरी रणनीतिक प्रवर्द्धनका कार्यक्रम ल्याउन जरुरी भएको उल्लेख गर्नुभयो ।

उहाँले ‘वाइल्ड लाइफ’ सफारीका लागि उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक आउने भएकाले चितवनमा हात्तीसम्बन्धी गतिविधि हुने गरेको भन्दै हात्तीको संरक्षण र अधिकारको विषयमा सजक रहेर गतिविधि सञ्चालन हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “वाइल्ड लाइफ टुरिजम’को मागअनुसार सेवा बढीभन्दा बढी पर्यटक आकर्षण गर्न हात्तीसम्बन्धी गतिविधि गर्दै आएको हो, हात्तीको महत्वले नै चितवनमा धेरै पर्यटक पुग्ने गरेका छन् ।”

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले पर्वतीय पर्यटन प्रवर्द्धनका लागि नीतिगत सुधार जरुरी भएको उल्लेख गर्नुभयो । नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्ट्स (नारा) का अध्यक्ष शिव अधिकारीले पर्यटन प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्र एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

Leave A Reply

Your email address will not be published.