समग्र मुलुकको अर्थतन्त्र सही बाटोमा : अर्थमन्त्री महत

0

काठमाडौं \  अर्थमन्त्री डा. प्रकाशशरण महतले समग्र मुलुकको अर्थतन्त्रले सही बाटो समाएको बताउनुभएको छ । बुधबार मन्त्रालयमा मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्नुहँदै मन्त्री महतले सो कुरा बताउनुभएको हो ।

‘‘समग्रमा मुलुकको अर्थतन्त्रले सही बाटो समाएको छ । थप आर्थिक सुधारका साथ आगामी बजेट तर्जुमाको गृहकार्य सुरु भइसकेको छ । सबै सुधारका प्रयासले नतिजा दिन केही समय लाग्नेछ ।,’’ मन्त्री महतले भन्नुभयो, ‘‘मिडिया जगतबाट समेत अर्थतन्त्रमा देखिएका सकारात्मक सङ्केतहरुको यथार्थ सूचना प्रवाहमा मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु । यसले अर्थतन्त्रमा थप आत्म विश्वास कायम गर्नेछ ।’’

मन्त्री महतले अन्तर्राष्ट्रिय विकास सहायतासम्बन्धी नयाँ नीतिको तर्जुमा सुरु गरिएको पनि बताउनुभयो । उहाँले जुनसुकै परियोजनामा अनावश्यक ऋण सहायता लिने प्रवृत्तिको सट्टा आवश्यकता र औचित्यका आधारमा मात्र ऋण परिचालन गर्न सुरु गरिएको जानकारी दिनुभयो ।

मन्त्री महतले भन्नुभयो, ‘‘जलवायु परिवर्तनका कारण मुलुकलाई पर्न गएको असरको क्षतिपूर्तिस्वरुप अनुदान र सहुलियतपूर्ण ऋण सहायता परिचालनमा जोड दिने नीति लिइएको छ । विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा जलवायु परिवर्तनसँग सम्बन्धित अन्तर्राष्ट्रिय दातृ निकाय तथा कोषबाट अनुदान र सहुलियतपूर्ण ऋण सहायता परिचालन हुनुपर्ने विषयमा स्पष्ट धारणा राखिएको र यसमा विकास साझेदारहरु सहमत भएकाले आगामी दिनमा यसको नतिजा आउने स्थिति बनेको छ ।’’

Leave A Reply

Your email address will not be published.