ओलीलाई प्रधानमन्त्री बनाउन १८ दल सहमत

0

काठमाडौं, १९ असोज । १८ दलले तीन दललाई भद्र सहमति अनुसार अगाडि बढ्न सुझाव दिएका छन् । हिजो प्रधानमन्त्री सुशील कोइरालाले आव्हान गरेको सर्वदलीय बैठकमा सहभागी दलले तीन दलबीच भएको भनिएको ‘भद्र सहमति’अनुसार एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाएर अगाडि बढ्न तीन दललाई सुझाव दिएका हुन् ।
बैठकमा अन्य दलले तीन दलबीच भएको भद्र सहमति र भावी प्रधानमन्त्री को हुने भन्ने लगायतका विषयमा जिज्ञासा राखेपछि बैठकमा सहभागी एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान जारी भएपछि केपी ओली नै प्रधानमन्त्री बन्ने भद्र सहमति भएको जानकारी दिएका छन् ।
प्रचण्डले संविधान जारी गर्ने बेलामा तीन दलबीच कांग्रेस नेतृत्वमा संविधान जारी गर्ने र संविधान जारी गरेपछि एमाले नेतृत्वमा सरकार गठन गर्ने भद्र सहमति भएको जानकारी गराएका थिए । प्रधानमन्त्री सुशील कोइरालाले आफू फेरि प्रधानमन्त्री बन्नका लागि लागिरहेको भन्ने टिप्पणी गलत भएको बताएका छन् । प्रधानमन्त्री कोइरालाले सहमति, सहकार्य र एकताबाटै अघि बढ्नुपर्छ भन्नेमा आफू अडिग रहेको बताएका थिए । प्रधानमन्त्री कोइरालाले संविधान जारी भएपछि एमाले नेतृत्वमा सरकार गठन गर्न सहमति गरेको तर सो सहमति पार्टीलाई जानकारी नगराएको बताएका थिए ।
बैठकमा व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने १८ दलको सहभागिता थियो ।

Leave A Reply

Your email address will not be published.