मेरो अभियान एकताबद्ध एनआरएनए बनाउने हो, पदको लागि होइन – राजेन्द्र कुमार शर्मा

0

काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष राजेन्द्र कुमार (आर के) शर्माले संघमा अहिले देखिएको विवाद समाधान गर्न अखण्ड एनआरएनए बनाएर पुनः चुनावमा जानु पर्ने बताएका छन्। शनिबार जीएनएन नेटवर्कसंग कुरा गर्दै अध्यक्ष शर्माले निर्वाचन समितिले नै निर्वाचनमा गलत भयो भनेपछि अबको विकल्प भनेको पुनः निर्वाचन नै भएको बताए।

“तत्कालिन अध्यक्षहरु बद्री केसी, कुल आचार्य र रविना थापासँग भएको लिखित अनुसार सबै प्रक्रिया स्थगित गरिएको थियो । तर ८ घण्टाभित्रै जवरजस्ती कुनै पनि प्रक्रिया पूरा नगरेर बद्री केसीलाई अध्यक्ष घोषणा गर्ने काम भएपछि हामीले दुई जना अध्यक्ष कुल आचार्य र रविना थापालाई राखेर, पुरानो कार्यसमिति भंग गरेर अध्यक्ष मण्डल गठन गरि सबै प्रक्रिया पूरा गरे पछि मात्रै मेरो नेतृत्वमा कार्यसमिति गठन भएको हो,” शर्माले भने। “वैधानिकताको कुरा गर्ने हो भने बद्री केसी पक्षले विधानसम्मत कुनै पनि प्रकृया पूरा नगरेकाले उहाँको कार्यसमिति अबैध छ ।

उहाहरुले गरेको झेलीलाई संसारले देखी सकेकोछ । हाम्रो एकमात्र माग भनेको अखण्ड एनआरएन बनाएर पुनः चुनावमा जानुपर्छ,” भन्ने हो, उनले भने।
एक प्रश्नको जवाफमा अध्यक्ष शर्माले बद्री केसी र गौरीराज जोशी लगायतले आफैले बनाएको विधानलाई कुल्चिएर गएको बताए।
“हाम्रो अभियान संस्था कसरी बचाउने भन्ने हो । दशौं अधिवेशनका बेला विनोद कुवँरजीहरुलाई उहाँहरुले नै बाहिर पठाउनु भएको हो । यदि पुनः चुनाव गराउने हो भने म उम्मेदवार हुनै पर्छ भन्ने पनि छैन । बद्री केसीजीलाई चुनाव लड्न गाह्रो छ भने आउनुस् तपाईं र म बाहेकको नेतृत्व चयन गरौं । हामी सानो सानो टुक्रे एनआरएनए बनाउने होइन, अखण्ड एनआरएनए बनाउन चाहन्छौं,” उनले भने।
“भेरो भोटिङको प्रतिनिधि को हो ? त्यो पनि हामीले थाहा पाएनौं । काठमाडौंबाट भोट हालेकै उम्मेदवारको सून्य मत, अनि कतारमा बसेकाको काठमाडौंबाट मतदान जस्ता काम भएका छन् । पहिला उहाँहरुले राजनीति गर्नुहुँदैन भन्नुहुन्थ्यो । तर पछिल्लो समय उहाँहरुले नै संघको केन्द्रीय कार्यालयमा एउटा राजनीतिक दलका कार्यकर्तालाई ल्याएर जुन हर्कत गर्नुभएको छ त्यसले संस्थाको छबि खराब भएकोछ । त्यस्तै सपथ भर्चुअल गर्ने व्यवस्था विधानमा छैन । सपथ अघि अघिल्लो कार्यसमिति विघटन गर्नुपर्ने हुन्छ । त्यो नगरेर हतार हतारमा सपथ लिने मनसाय गलत छ,” उनले भने। एनआरएनए ७० देखि ८० लाख नेपालीको नासो भएकाले संस्था बचाउन जस्तो सुकै कदम चाल्न आफुहरु तयार रहेको पनि उनले बताए।
एनआरएनएको तर्फबाट भर्खरै जाजरकोट तथा पश्चिम रुकुममा गएको टोलीको नेतृत्व गर्दै राहत वितरण गरेर फर्केका अध्यक्ष शर्माले स्थानीय एफएम रेडियोसंग सहकार्य गरेर भूकम्प पीडितहरुका लागि मनोपरामर्श कार्यक्रम सुरु गरेको बताए ।

“कम्तिमा ५० देखि १०० वर्ष धान्ने गरी तथा कम्तिमा ८ रेक्टरस्केलको भूकम्प थेग्नेगरी संरचना बनाउन जरुरी भइसकेको छ । बरु केही समय दुःख गरेर भए पनि दीर्घकालसम्म हुने गरी पुनर्निर्माण गर्नुपर्छ । त्यसका लागि एनआरएनएले सरकारसँग समन्वय गरेर काम गर्ने छ,” उनले भने ।
अध्यक्ष शर्मासंगको अन्तरवार्ताको रेकर्ड यो पेजमा गएर सुन्न सकिन्छ :

https://www.facebook.com/chardisha.news/videos/1331210064191749

Leave A Reply

Your email address will not be published.