महासचिव गुटेरेस लुम्बिनीमा

0

भैरहवा \  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी आइपुग्नुभएको छ । उहाँ निर्धारित तालिकाभन्दा दुई घण्टा ढिलो गरी लुम्बिनी आइपुग्नुभएको हो ।

महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पबाट सिधै गौतमबुद्ध विमानस्थलमा ओर्लनुभएको थियो भने त्यहाँबाट हेलिकोप्टरमा लुम्बिनी आइपुग्नुभएको हो । महासचिव गुटेरेसलाई लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वागत गर्नुभएको छ । पूर्वनिर्धारित समय तालिकाअनुसार बिहान पौने ९ बजे गुटेरेस आउने बताइए पनि बेसक्याम्पमा भएको ढिलाइका कारण दुई घण्टा ढिलाे मात्र लुम्बिनी आइपुग्नुभएको हो ।

सुरक्षा व्यवस्थालाई ध्यान दिँदै मङ्गलबार बिहानैबाट यहाँस्थित मायादेवी मन्दिरमा सर्वसाधारणलाई रोकिएको छ भने तीन तहको सुरक्षा घेरा बनाइएको छ । लुम्बिनीमा सीमित पत्रकारहरुलाई मात्र प्रवेशका लागि पास उपलब्ध गराइएको छ । नेपाली सेनाले सुरक्षाको जिम्मा लिएकाले विकास कोषले पनि सबैलाई रिपोटिङका लागि पास दिन नसकेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.