नवप्रवर्तन केन्द्रमार्फत उद्यमशीलता विकास गर्न सकिन्छ : राष्ट्रपति

0

काठमाडौँ \ राष्ट्रपति रामचन्द्र पौडेलले नवप्रवर्तन केन्द्रमार्फत इन्क्युवेशन सेन्टर चलाएर स्टार्टअपमा बिउ पुँजी उपलब्ध गराई उद्यमशीलताको विकास गर्न सकिने बताउनु भएको छ । काठमाडौँ विश्वविद्यालय (केयू)मा कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका)को सहयोगमा निर्माण भएको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले देशभित्र रहेको करिब ६२ प्रतिशत आर्थिक रूपमा क्रियाशील हुने जनसङ्ख्यालाई उद्यमशील बनाउनेतर्फ लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रपति पौडेलले उद्यमशीलता विकासशील अर्थतन्त्रको महत्त्वपूर्ण आधारशिला रहेकाले उद्यमशीलताले जागिर खोज्ने नभई जागिर दिने जनशक्ति उत्पादन गर्ने बताउनुभयो । उहाँले इनोभेसन सेन्टरमा स्थापित कृषि, स्वास्थ्य र ऊर्जासम्वद्ध तीनवटै विशिष्टीकृत खोज–अनुसन्धान इकाईहरूले प्राज्ञिक प्रकृतिका अनुसन्धान कृति र आलेखहरू प्रकाशित गर्नुका अतिरिक्त समाज र राष्ट्रलाई प्रत्यक्ष उपयोगी हुने सीप, ज्ञान र दक्षता विकासमा पनि उत्तिकै योगदान गर्न सक्नुपर्ने बताउनुभयो ।

“मानवतामैत्री, दिगो र न्यायपूर्ण विकासका लागि खोज, अनुसन्धान, नवप्रवर्तन र प्रविधिका परिपूरक सहकार्यका अतिरिक्त वातावरण र मानवतासँग अन्योन्याश्रित सहसम्बन्ध हुनु अपरिहार्य छ,” राष्ट्रपति पौडेलले थप्नुभयो । उहाँले भविष्यको पुस्तालाई व्यापक र द्रुत आयाममा प्रविधिमय हुँदै गएको विश्वसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउनुको विकल्प नभएको बताउनुहुँदै  मानव मष्तिकको क्षमताले व्यवस्थित गर्न सक्नेभन्दा छिटो गतिमा विश्वमा परिरहेको जलवायु परिवर्तन, भूमण्डलीकरण र कृत्रिम विद्वताले मानव सभ्यताका सामु खडा गरेका चुनौतीलाई पार लगाउँदै अगाडि बढ्नु पर्ने अवस्था रहेको बताउनुभयो ।

कार्यक्रममा नेपालका लागि कोरियाली राजदूत पार्क ताइ योङ्गले नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर नेपालको उद्योग र शिक्षाविद्हरुबिचको आविष्कार र सहकार्यको मञ्च रहेको बताउनुभयो । उहाँले सन् १९७४ देखि नेपाल र कोरियाबिच सम्बन्ध रहेको बताउँदै नेपालको शान्ति, प्रगति र समृद्धिको यात्रामा कोरियाको साथ रहने बताउनु भयो । कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले काठमाडौँ विश्वविद्यालय एक अनुसन्धान हब बन्नका लागि तयार रहेको बताउनुहुँदै विश्वविद्यालय भित्र र बाहिर करिब ३५ वटा अनुसन्धानहरू इनोभेसन सेन्टरमार्फत हुँदै आएको बताउनुभयो ।

कार्यक्रममा कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) का नेपालका कन्ट्री डाइरेक्टर कोङ् मोहिओन, विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. अच्युत वाग्लेले इनोभेसन सेन्टर नवप्रवर्तनमा लाग्ने युवाहरूको लागि एउटा अनुसन्धान गर्ने महत्त्वपूर्ण स्थलको रूपमा रहेको बताउनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.