इजरायल आक्रमणमा परि १२ नेपाली सम्पर्क विहीन छन् : परराष्ट्रमन्त्री साउद

0

काठमाडौं \  परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलको आक्रमणमा परी १२ जना नेपाली विद्यार्थीहरू सम्पर्क विहीन भएका बताउनुभएको छ ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै मन्त्री साउदले दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा रहेर अध्ययनरत १२ जना नेपाली विद्यार्थीहरू सम्पर्कविहीन भएका बताउनुभएको हो । सो स्थानमा १७ जना विद्यार्थीहरू रहेकामा दुई जना सकुशल अवस्थामा रहेका, तीन जना घाइते भई स्थानीय अस्पतालमा उपचार भइरहेको र १२ जना सम्पर्क विहीन भएकाले उनीहरूको अवस्थाको यकिन गर्न नसकिएको जानकारी उहाँले दिनुभयो ।उनीहरूको अवस्था यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको उहाँले बताउनुभयो ।

मन्त्री साउदले आज नै परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै सरोकारवाला निकायहरू सम्मिलित एक समन्वय संयन्त्र स्थापना गरिएको र सो संयन्त्रले घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरेर नेपालीहरूको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्य समेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कार्यहरू गर्ने जानकारी दिनुभयो ।

उहाँले इजरायलमा हाल चार हजार पाँच सय नेपालीहरू केयर गिभरको रूपमा कार्यरत रहेका बताउनुभयो । यस्तै, २६५ जना नेपाली विद्यार्थीहरू इजरायल सरकारको लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत गएकामध्ये कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना रहेका उल्लेख गर्नुभयो । सम्पर्क विहीन हुनेहरूमा सुदूरपश्चिम विश्वविद्यालयबाट गएकाहरू रहेको उहाँको भनाइ छ ।

‘‘इजरायलमा हाल चार हजार पाँच सय नेपालीहरू केयर गिभरको रूपमा कार्यरत रहेका छन् । इजरायलमा हाल अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थीहरू इजरायल सरकारको लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत गएका थिए । यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए । यी मध्ये सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपालीहरू दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययनरत रहेका थिए ।

नेपाली राजदूतावासबाट प्राप्त अपडेट अनुसार यो स्थान गाजा क्षेत्र नजिक रहेको र त्यहाँ हमास समूहबाट गम्भीर आक्रमण भएकाले उक्त स्थानमा अध्ययनका लागि रहेका १७ जना नेपालीमध्ये दुई जना सकुशल रहेको, तीन जना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको, केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ ।,’’मन्त्री साउदले भन्नुभयो, ‘‘इजरायलमा भएको यस दुःखद घटनालाई नेपाल सरकारले गम्भीरतासाथ लिएको छ ।

Leave A Reply

Your email address will not be published.