इजरायलमा आक्रमणमा ९ नेपाली घाइते

0

इजरायलमा भएको प्यालेस्टिनी आक्रमणमा गाजा क्षेत्र नजिकै रहेका केही नेपाली नागरिकहरु पनि घाइते भएका खबरहरु सार्वजनिक भएका छन् । इजरायलमा रहेको नेपाली दूतावासले केही नेपालीहरू घाइते भएको अपुष्ट खबर आएको र त्यसबारे थप जानकारी संकलनको काम भइरहेको बताएको छ । कतिपय सञ्चारमाध्यमहरूले नौ जना नेपाली घाइते भएका र १७ जना नेपालीलाई हमासले बन्धक बनाएको उल्लेख गरेका छन् । तर नेपालको परराष्ट्र मन्त्रालय र इजरायलमा रहेको नेपाली दुतावासले त्यसको पुष्टि गरेका छैनन् ।

इजरायलमा रहेको नेपाली दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता अर्जुन घिमिरेले नेपालीहरू कार्यरत एउटा कृषि फर्ममा पनि आक्रमण भएको र त्यस क्रममा नौ जना नेपाली घाइते भएको भन्ने विवरण आएको तर त्यसलाई दूतावासले आधिकारिक रूपमा पुष्टि गर्न बाँकी रहेको बताउनुभएको बीबीसी नेपाली सेवाले जनाएको छ ।

इजरायलमा भण्डै पाँच हजार जना नेपाली कार्यरत रहेको गैह्र आवासीय नेपाली संघ इजरायलले जनाएको छ । यसैबीच हमासको आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको संख्या ४० जना पुगेको इजरायली अधिकारीले पुष्टि गरेका बीबीसीले जनाएको छ । इजरायलमा सात सय ५० जना भन्दा धेरै घाइते भएका छन् ।

यस्तै इजरायली सेनाले प्यालेस्टिनी क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा एक सय ९८ जना मारिएका र एक हजार जना भन्दा धेरै घाइते भएका इजरायली सेनाले दाबी गरेको छ । इरानले प्यालेस्टिनको हमासले इजरायलमा गरेको आक्रमणमा समर्थन गरेको छ । संयुक्त राष्ट्रसंघ, अन्तरािष्ट्रय रेडक्रस लगायतका अन्तराष्ट्रिय संस्थाहरुले युद्ध तत्कालै रोक्न आग्रह गरेका छन् । अमेरिकाले आफू इजरायली सरकार र नागरिकको पक्षमा रहेको बताएको छ ।

यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल युद्धमा रहेको भन्दै हमासले कहिल्यै नसोचेको मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ । प्यालेस्टिनी लडाकु समूह हमासले बिहान २० मिनेटमा ५ हजार वटा रकेट प्रहार गरेको जनाएको छ । इजरायली सेनाले गाजा वरपरका बासिन्दाहरूलाई भित्रै बस्न र दक्षिणी र मध्य क्षेत्रका नागरिकहरूलाई सेल्टरको छेउमा बस्न भनेको छ ।

पछिल्लो पटक सन् २०२२ को अगस्टमा इजरायली सेनाले प्यालेस्टिनी विद्रोही अखडामा हवाई आक्रमणमा गर्दा कम्तीमा ४४ जनाको ज्यान गएको थियो । त्यसअघि सन् २०२१ मा ११ दिनसम्म चलेको हिंसात्मक द्वन्द्वमा गाजाका २ सय ५० जना र इजरायलका १३ जना मारिएका थिए ।

Leave A Reply

Your email address will not be published.