कांग्रेस विस्तारित एउटा ठूलो परिवार हो : अर्थमन्त्री डा. महत

0

चितवन \  नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेस पार्टी विस्तारित एउटा ठूलो परिवार भएको बताउनुभएको छ । नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै भन्नुभयो, ‘‘विस्तारित परिवारमा समस्या आउँछ, प्रश्न उठ्छ, एकअर्काप्रति असन्तुष्टि उत्पन्न हुन्छ, तर परिवारभित्रको विवाद मिलाउँदै अगाडि बढ्नुपर्छ ।’’

मन्त्री डा. महतले भन्नुभयो, ‘‘अहिले हामी संघर्षको राजनीतिमा छैनौं, सत्ता राजनीतिमा छौं । संघर्ष राजनीतिमा एउटै लक्ष्य दिने मात्र हुन्छ, सत्ताको राजनीतिमा दिन र लिने दुवै हुन्छ । मैले पनि जिम्मेवारी पाउनु पर्छ भन्ने राजनीतिमा आज हामी छौं । सङ्ख्या ठूलो भएपछि सबैले जिम्मेवारी पाउँदैनन् ।’’

‘‘अरुकोभन्दा हामी आफैँभित्रको आलोचना बढी गछौं, यो कांग्रेसभित्रको समस्या हो । हामी विपक्षीबारे खासै बोल्दैनौं, आफ्नै साथीभाइ र पार्टीका बारेमा ज्यादा बोल्छौं ।,’’ मन्त्री डा. महतले भन्नुभयो, ‘हामी ठूलो सङ्ख्यामा छौं, व्यक्तिगत स्वतन्त्रमा विश्वास गछौं । जसले गर्दा सबै कुरा अभिव्यक्त गर्नुपर्ने ठाउँमा पनि हुन्छ, नगर्नुपर्ने ठाउँमा पनि हुन्छ ।’’

‘‘जिम्मेवारीमा रहेका साथीहरुले समेत जहाँ भन्नुपर्ने हो, त्यहाँ भन्दैनौं, छलफल गर्दैनौं, प्रस्तावका रुपमा अगाडि बढाउँदैनौं, मन्त्री डा.महतले भन्नुभयो, ‘‘तर बाहिर राख्छौं । यस किसिमको त्रुटी हाम्रो छ ।’’

२०४६ साल अगाडि सुनौलो जमाना थियो, अहिले नेताले देश विगारे भन्ने भाष्य सामाजिक सञ्जालमा जर्बजस्ती स्थापित गराइँदैछ । के त्यो सत्य हो ? प्रतिप्रश्न गर्नुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘‘नयाँ पिढी जो सामाजिक सञ्जालमा अभ्यस्त छ, तर बाहिर के भइरहेको छ भनेर जानकारी लिइरहेको हुन्छ, तर हामी कुन परिस्थितिबाट गुज्रियौं, जनताको जीवनस्तर कस्तो थियो भन्ने विषय उनीहरुलाई थाहा छैन ।’’

नागरिकको अधिकार डिरेल गर्नेहरु मौकाको खोजीमा छन् । नागरिकको अधिकार खोसियो भने, खोसिन थाल्यो भने, ठूलो कुरा गरेर आउनेहरु एक दिन पनि नटिक्ने मन्त्री डा. महतले दाबी गर्नुभयो । उहाँले लोकतन्त्रमाथि खतरा आयो, जेलनेलको सामना गर्नुपर्यो कांग्रेस तयार हुनुपर्ने बताउनुभयो ।

पार्टीभित्र समस्या हुन्छ, सबैको आकाङ्क्षा एकैपटक पूर्ति गर्न नसकिने स्पष्ट पार्नुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘‘आजको दिन वा भोलिका दिनमा पनि नेपाली कांग्रेसको सान्दर्भिकता छ ।’’

अहिलेको मिसन भनेको एक ढिक्का कांग्रेस भएको स्पष्ट पार्नुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘‘कांग्रेस एक ढिक्का भयो भने जुनसुकै समस्या समाधान हुन्छ ।’’

Leave A Reply

Your email address will not be published.