प्रधानमन्त्री दाहाल र एमसीसीकी सीईओ अल्ब्राइटबीच भेटवार्ता

0

काठमाडौँ \ मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अल्ब्राइट र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्री दाहाललाई भेट्न अल्ब्राइट प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन् ।

प्रधानमन्त्रीको सचिवालय अनुसार दुईजनाबीच नेपाल र अमेरिकाबीचको सहकार्यका विभिन्न आयामबारे छलफल भएको थियो । त्यस्तै एमसीसी परियोजनाबारे पनि दुईजनाबीच छलफल भएको छ ।

नेपाल भ्रमणमा रहेकी सीईओ अल्ब्राइटले सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन् । एमसीसी परियोजना कार्यान्वयनको औपचारिक सुरुवात भएको एक महिनापछि अल्ब्राइट नेतृत्वको प्रतिनिधिमण्डल आइतबार काठमाडौँ आइपुगेको हो ।

नेपाल र एमसीसीबिच २०७४ भदौ २९ गते नेपाल कम्प्याक्ट सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौता संयुक्त राज्य अमेरिकाको वासिङ्टन डीसीस्थित अमेरिकी विदेशमन्त्रालयमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की तथा एमसीसीका कामु प्रमुख कार्यकारी अधिकृत जोनाथन नाशले हस्ताक्षर गरेका थिए । यस कार्यक्रम अन्तरगत विद्युत् प्रशारण लाइन निर्माण तथा सडक मर्मतसम्भारसम्बन्धी दुईवटा आयोजना रहेका छन् ।

गत भदौ १३ गते नेपाल र एमसीसीबीच एमसीसी नेपाल कम्प्याक्टको पूर्वतयारी चरणमा यथेष्ट प्रगति भएको सहमतिपछि कार्यान्वयन चरणमा प्रवेश भएको घोषणा गरिएको थियो । पाँच वर्षको समयसीमा भित्र कम्प्याक्ट कार्यक्रम सफलतापूर्वक सम्पन्न हुने भनिएको छ ।

Leave A Reply

Your email address will not be published.