समृद्धिको प्रक्रियालाई तीव्र पार्ने अभियानमा सरकारः गृहमन्त्री श्रेष्ठ

0

हेटौंडा \ उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधानको कार्यान्वयन गर्दै सामाजिक आर्थिक रुपान्तरण गरेर देशलाई विकसित र समृद्ध बनाउने कार्यभारमा सरकार लागि परेको बताएका छन् । नेपालमा जुन किसिमको आयामको राजनीतिक परिवर्तन भयो त्यसले जनताको जीवन फेरिएको महशुस गर्न पाउनुपर्ने कामलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए । सुशासन, समृद्धि र सामाजिक न्यायलाई तीव्र पारेर फड्को मार्ने अवस्थामा सरकार लागि रहेको बताउँदै समृद्धिको प्रक्रियालाई तीव्र पार्ने अभियान जारी रहेको बताएका छन् ।

सोमबार हेटौंडामा आयोजित रेडियो सन्देश, निकास साप्ताहिक र थाहा नेपाल डटकमको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले सरकारले बाड्ने पदक रोकेर खर्च कटौती गरिएको, भुटानी शरणनार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरणमा भष्ट्रचारमा मुछिएकाहरुलाई कानुनी दायरामा ल्याएर राजनीतिक परिवर्तनको पुष्टि गर्न सरकार सक्षम रहेको बताएका हुन् ।

गृहमन्त्री श्रेष्ठले शक्तिकेन्द्र धाएर काम गर्ने परिपाटी बन्द भएको बताउँदै प्रहरी प्रशासनमा हुने सरुवा बढुवामा आर्थिक चलखेलको अन्त्य गरिएको समेत उल्लेख गरे । उले सामन्तवादको झल्को दिने मिटर व्याजीलाई कानुनी दायरामा ल्याई समाधानका लागि प्रजिअ मार्फत समिति बनाएर पिडितलाई न्याय दिलाउन सरकार सक्षम रहेको बताए ।

भष्ट्रचारको प्रवृतिमा तै चुप मै चुप भनेर बस्ने आफ्नो लक्ष्य नरहेको बताउँदै मन्त्री श्रेष्ठले सरकारमात्र चल्ने खालको प्रवृति आफुबाट नहुने बताएका छन् । उनले जनताले समृद्धिको फल पाउन नसकेको भन्नुहुँदै आधारभूत आवश्यकताहरुलाई पुरा गर्न सकेमात्र समृद्धि आउने जनाएका हुन् ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेश सभा सदस्य प्रेम बहादुर पुलाली, हेटौंडा उपमहानगरका नगर प्रमुख मीना कुमारी लामा, गृहमन्त्रीका स्वकीय सचिव विजय गौतम लगायतले आफ्नो भनाई राखेका थिए । कार्यक्रम सामूदायिक सञ्चार समूहका अध्यक्ष सुनील खड्काको सभाध्यक्षतामा भएको थियो ।

कार्यक्रममा रामचन्द्र खड्का स्मृति पत्रकारिता पुरस्कारबाट थाहा नेपाल डटकमका सम्पादक शम्भु अधिकारीलाई सम्मान गरिएको थियो । त्यस्तै रेडियो सन्देशमा कार्यरत उकृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.