पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकले शेयर बजारमा अनावश्यक हस्तक्षेप गर्नु ठिक नभएकाे बताउनुभएकाे छ । आज मङ्गलवार काठमाण्डाैमा नेपाल उद्योग व्यवसायी महासङ्घले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्वअर्थमन्त्री खतिवडाले राष्ट्र बैंकले धितोपत्र बजारमा अनावश्यक हस्तक्षेप गरिरहनु धितोपत्र बजारका लागि राम्रो नभएको बताउनुभएकाे हाे । आ–आफ्नो क्षेत्रको काम जिम्मेवारीपूर्वक गर्दा अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई र राष्ट्र बैंकले धितोपत्र बोर्डलाई हस्तक्षेप गर्न आवश्यक नहुने उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘अर्काको अधिकारमा हस्तक्षेप गर्ने कुरामा अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई र राष्ट्र बैंकले धितोपत्र बोर्डलाई गर्नु उपयुक्त होइन । आ–आफ्नो क्षेत्रको काम जिम्मेवारीपूर्वक गरौँ न । न त राष्ट्र बैंकले शेयर बजारमा हस्तक्षेप गर्नुपर्छ ।’
पूर्वअर्थमन्त्री खतिवडाले शेयर बजार ‘ओभर करेक्शन’ हुँदा शेयर धितो कर्जामा १५० प्रतिशतको जोखिमभार कायम राख्नु ठिक नभएको बताउनुभयाे । उहाँले शेयर बजार परिसूचक नेप्से ३२ सय अङ्कमा हुँदा जाेखिम भए पनि अहिले ‘ओभर करेक्शन’ भएको बताउँदै त्यसले लगानीकर्ताकाे मनाेबल बढ्ने दाबी गर्नुभयो ।
खतिवडाले धितोपत्र बोर्डको भूमिकामाथि प्रश्न गर्दै शेयर बजारलाई स्थायित्व दिने जिम्मेवारी पाएको धितोपत्र बोर्डले आईपीओकाे बाढी ल्याउन नहुने बताउनुभयो । नेप्सेको अवस्था पनि ठिक नभएको उहाँले बताउनुभयो । कुनै पनि निकाय आफ्नो जिम्मेवारीबाट भाग्न नहुने र आफ्नाे जिम्मेवारी पन्छाएर हल्लाखल्ला गरेर केही नहुने उहाँकाे भनाइ छ ।
पूर्वअर्थमन्त्री खतिवडाले अर्थतन्त्र सङ्कटमा भएकाे देशकाे सरकारको रबैया बढी भएको बताउनुभयो । सङ्कटमा रहेकाे अर्थतन्त्रमा सरकारले रबैया देखाउने भन्दा पनि तत्काल सुधारका काम गर्न उहाँले सुझाव दिनुभयाे ।