धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत इन्द्रजात्रा शुरु

0

काठमाण्डौ उपत्यकामा आठ दिनसम्म मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत इन्द्रजात्रा शुरु भएको छ । हरेक वर्षको भाद्रशुक्ल द्वादशीका दिन काठमाण्डौको हनुमानढोकामा ३६ हात लामो लिङ्गो ठड्याएर इन्द्रजात्रा पर्वको शुरुवात गर्ने गरिन्छ ।

काठमाण्डाैमा ठूलो लिङ्गोसँगै आसपासका जिल्लामा समेत मनाइने यो पर्वका दिन भक्तपुरको दोबाटोमा छोटो लिङ्गाे ठड्याउने चलन छ । जसलाई स्थानीय भाषामा यम्बोःद्यो भनिन्छ । इन्द्रजात्रा पर्वको मुख्य विधि भनेको नै वसन्तपुर दरबार क्षेत्रको कालभैरव अगाडि यः सिं अर्थात् लिङ्गो ठड्याउनु हो । यो लिङ्गो तान्त्रिक विधिबाट ठड्याउने गरिन्छ ।

वर्षा र सहकालका देवता इन्द्रको पूजा एवम् सम्झनामा मनाइने यो पर्वमा थानकोटमा रहेको इन्द्रदहमा गएर रातभर जाग्राम बसेर इन्द्रको पूजा समेत गर्ने गरिएको छ । विभिन्न नाचगान, रथयात्रा गरी यो जात्रा आठ दिनसम्म मनाइन्छ । इन्द्रजात्राको तेश्रो दिन आउँदो बिहीवार कुमारी रथयात्रा हुन्छ । यो दिन काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

बिहीवार राष्ट्रपतिबाट हनुमानढोकाको गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा अवलोकन गर्ने परम्परा छ । कुमारीको रथलाई काठमाण्डाैको तल्लो क्षेत्र लगन, मरुलगायतको ठाउँमा तानेर क्वःनेयाः मनाइनेछ । कुमारीको रथसँगै लाखे , पुलुकिसी, लगायतका देवदेवीको नाच पनि प्रदर्शन गरिन्छ ।

यो दिन विदेशी पाहुना पनि सहभागी हुने छन् । जात्राभरि सवःभक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रध्वजा ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ढालेपछि इन्द्रजात्राका अवसरमा गरिने सबै धार्मिक गतिविधि पनि समापन गरिनेछ।

Leave A Reply

Your email address will not be published.