नेपाल–चीन प्रसारण लाइन अघि बढाउने समझदारी

0

काठमाडौँ \ नेपाल–चीनबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण अघि बढाउन समझदारी भएको छ । नेपाली ऊर्जा निर्यातको ढोका उत्तरतर्फ पनि खोल्न प्रस्ताव गरिएको चिलिमे–केरुङ प्रसारण लाइन बनाउन पाँच वर्षअघि नै अध्ययन सुरु भए पनि आयोजना अलपत्र परेको थियो । प्रसारण लाइनको निर्माण अघि बढाउन फेरि समझदारी भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी ली छ्याङ नेतृत्वको प्रतिनिधिमण्डलबीच सोमबार बेइजिङस्थित ‘ग्रेट हल अफ दि पिपुल’ मा भएको वार्तामा ऊर्जा र कृषिसहितका १२ विषयमा सम्झौता र समझदारी भएका छन् । ‘सबैभन्दा महत्त्वपूर्ण विद्युत् व्यापारका लागि प्रसारण लाइन बनाउने समझदारी भएको छ, यसले विद्युत् व्यापारको बजार विस्तार गर्नेछ,’ चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले  भने ।

तर, प्रसारण लाइन बनाउने विषयमा समझदारी भए पनि निर्माण र लगानीको विषय टुंगो नलागेको अधिकारीहरूले बताएका छन् । नेपाली पक्षकै अलमलले ठोस समझदारी गर्न गाह्रो भएको बताइएको छ । लामो समयदेखि चर्चामा रहेको रसुवागढी–केरुङ प्रसारण लाइनलाई पनि भ्रमणको एजेन्डाका रूपमा राख्ने भनेर प्रचार गरिएको थियो । तर बेइजिङ पुगेका नेपाली अधिकारीहरू भने यो विषय एजेन्डामै नपरेको देखेर छक्क छन् । ‘एजेन्डा बनाउने जिम्मेवारी परराष्ट्र मन्त्रालयको हो, तर प्रसारण लाइनको विषय नै समावेश रहेनछ, पछि थपथाप गरेर छलफल भएको छ, त्यसैका आधारमा समझदारी भएको हो,’ एक अधिकारीले भने ।

Leave A Reply

Your email address will not be published.