केरुङ-रसुवागढी नाका असोज २४ गतेबाट खुल्ने

0

रसुवा, १६ असोज । उत्तरको महत्वपूर्ण केरुङ–रसुवागढी नाका असोज २४ गतेबाट सञ्चालनमा आउने भएको छ । चीनले केरुङ नाका उक्त दिनदेखि खुलाउने औपचारिक जानकारी नेपाल सरकारलाई पठाएको हो । यसअघि नै रसुवागढी नाका आयातका लागि तयारी हालतमा छ । वैशाख १२ को भूकम्पपछि नाका रसुवागढी बन्द छ । संविधानलाई लिएर असन्तुष्ट भारतले दक्षिणी नाकामा अघोषित नाकाबन्दी गर्दा आपूर्ति असहज भएपछि सरकारले दसैं अगावै उत्तरका नाका खुलाउन आग्रह गरेको थियो ।
नाका खुलाउन सकरात्मक रहेको प्रतिक्रिया दिएको चीनले आग्रहको साता नबित्दै केरुङ–रसुवागढी सञ्चालन गर्ने मिति तय गरेको हो । नाका खुलेकै दिनदेखि आपूर्ति सुरु हुने रसुवागढी भन्सार प्रमुख केदारप्रसाद पनेरुले जानकारी दिए ।
केरुङ–रसुवागढी नाकाको बीचमा चिनियाँ भू–भागमा २५ किमी क्षेत्रमा गएको पहिरोले यो नाका खुल्न सकेको थिएन । पछिल्लो समयमा चिनिया पक्षले पहिरो पन्छाएपछि नाका सञ्चालनमा आउन लायक भएको हो । पराम्परागत भएपनि रसुवागढी नाका वर्षअघिबाट औपचारिक सञ्चालनमा आएको हो । तराई र काठमाडौंमा हुने आयातलाई ध्यान दिँदै यो नाका पूर्वाधार विकाससहित सञ्चालनमा ल्याइएको हो ।

Leave A Reply

Your email address will not be published.