एनआरएनहरुका लागि गैरआवासीय नेपाली नागरिकता ऐतिहासिक उपलब्धी : कुल आचार्य

0

काठमाडौं । गैर आवसीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष कुल आचार्यले नेपालको इतिहासमै पहिलोपटक गैरआवासीय नेपाली (एनआरएन) हरुका लागि गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्न कानूनी बाटो खुलेकोमा विश्वभरका प्रवासी नेपालीहरुलाई बधाई दिएका छन् ।

बुधबार नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएसँगै गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने अवसर जुराइदिएकोमा अध्यक्ष आचार्यले नेपाल सरकारलाई धन्यवाद दिंदै उक्त प्रक्रियाको स्वागत गरेका छन् ।

‘गैरआवासीय नेपाली नागरिकतालाई व्यवहारमा परिणत गर्न सघाउने नेपाल सरकारका सबै निकाय, माननीय सांसदज्यूहरु तथा  राजनीतिक दलका सबै नेतृत्व गणप्रति हार्दिक आभार व्यक्त गर्दछु। प्राप्त उपलब्धिहरुको रक्षा गर्दै वंशजको नागरिकताको निरन्तरता लगायत नेपाली नागरिक सरहको हकका लागि हाम्रो प्रयास जारी रहने पनि दोहोराउन चाहन्छु,’ उनले भने।

एनआरएनए अभियानमा क्रियाशील भएयता गैर आवसीय नागरिकता प्राप्तीका लागि निरन्तर सक्रिय भएका आचार्यले प्रवासी नेपालीहरुका निम्ती ऐतिहासिक सफलता मिलेको प्रतिक्रिया दिए । नागरिकता प्राप्तीका लागि आठ बर्षदेखि एनआरएनए अभियानका तर्फबाट अग्रणी भूमिका निर्वाह गरेकोप्रति आचार्यलाई अभियन्ताहरुले धन्यवाद प्रकट गरेका छन् । गत भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिकता नियमावली तेस्रो संशोधन पारित गरेको थियो।

नियमावली अनुसार एनआरएनहरुले गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन विदेशबाटै आवेदन दिन पाउने भएका छन्। विदेशकै राजदूतावास वा महावाणिज्य दूतावासमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ। नागरिकता लिन चाहनेहरुले आफू वा आफ्नो बाबु, आमा बाजे वा बज्यैमध्ये १ जनाको नेपाली नागरिकताको आधारमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन सोही नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ।

गैरआवासीय नेपाली नागरिकता लिनका लागि हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपि, नेपालको संविधान मान्ने प्रतिबद्धता, विदेशी नागरिकता लिएको प्रमाण आदि कागजात पेस गर्नुपर्नेछ। सार्क राष्ट्रमा बसोबास गर्नेहरूले भने गैरआवासीय नेपाली नागरिकता पाउने छैनन्।

गैरआवासीय नेपालीले नागरिकताका लागि निवेदन दिएपछि नेपाली दूतावास वा महावाणिज्य दूतावासले १५ दिनभित्र परराष्ट्र मन्त्रालयमार्फत् सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन पठाउनुपर्नेछ। यसरी निवेदन आएपछि प्रमुख जिल्ला अधिकारीसमक्ष ती गैरआवासीय नेपालीलाई चिन्ने एक नेपाली नागरिकले सनाखत गर्नुपर्नेछ।

प्रमुख जिल्ला अधिकारीलाई गैरआवासीय नेपालीले पेस गरेको विदेशको नागरिकता र राहदानीमा शंका लागेमा उनले सम्बन्धित राजदूतावास वा महावाणिज्य दूतावासलाई वैधता जाँच गर्न लगाउन सक्नेछन्। यसरी वैधता जाँचको निवेदन आएमा १५ दिनभित्र दूतावास वा महावाणिज्य दूतावासले बुझेर जानकारी गराउनुपर्छ। गैर आवासीय नेपाली नागरिकता दिनुअघि प्रमुख जिल्ला अधिकारीले सम्बन्धित व्यक्तिलाई नेपालको संविधान र कानुन मान्ने प्रतिबद्धता अर्थात् शपथ गराउनुपर्नेछ। नेपाली नागरिकता लिन चाहने गैरआवासीय नेपालीले ईश्वर, देश र जनताको नाममा शपथ लिनुपर्ने व्यवस्था गरिएको छ

Leave A Reply

Your email address will not be published.