जनतालाई परिणाम दिन जोखिम मोल्न तयार हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

0

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले देश र जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउन तयार हुनुपर्ने बताउनुभएको छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।

जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले परिणाम नदिने भन्दै आफ्नो कार्यादेशअनुसार जोखिम उठाउन कर्मचारीलाई उहाँले निर्देशन दिनुभयो। प्रधानमन्त्री “प्रचण्ड” ले जोखिम उठाउन तयार हुने मनोविज्ञानले मात्र राम्रो परिणाम दिने बताउनुभयो। उहाँले भन्नुभयो, “हामी सबैले जिम्मेवारी बहन गर्नेतिरबाट सोच्नुपर्छ। जिम्मेवारी पन्छाउने प्रवृत्तिले परिणाम दिँदैन। जिम्मेवारीमा जोखिम हुन्छ, जोखिम मोल्न तयार हुनुपर्दछ।”

प्रधानमन्त्रीले भन्नुभयो, “नीति तथा कार्यक्रम र बजेटको मासिक समीक्षा गर्ने प्रक्रियाको सुरूवात भएको छ । यो आफैमा राम्रो सुरूवात हो। तर राम्रो परिणाम ल्याउन आगामी दिनहरूमा धेरै मेहेनत गर्नुपर्दछ। त्यसरी मात्र परिणाम दिन सकिन्छ।” कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा शीर्षकको रिपोर्ट कार्डमा गत वर्षको तुलनामा यस आर्थिक वर्षमा आर्थिक परिसूचकमा राम्रो सुधार आएको चर्चा गर्नुभयो ।

आ.व. २०७८–७९ मा भुक्तानी सन्तुलन २५५.२६ अर्ब ऋणात्मक रहेकोमा आब २०७९–८० मा सुधार आई २९०.५२ अर्ब भएको छ। त्यसैगरी वैदेशिक विनिमय सञ्चिति १२१५.८ अर्ब रहेकोमा यस आर्थिक वर्षमा १५३९.३६ अर्ब रहेको, रेमिट्यान्स प्राप्ति गत वर्ष १००७.३१ रहेकोमा यस वर्ष १२२०.५६ अर्ब रहेको सरकारको तथ्यांक छ।

त्यसैगरी आर्थिक वर्ष २०७८–७९ मा आयात १३१.३ अर्ब रहेकोमा यस वर्ष १२९.२ अर्ब, निर्यात १४.८ अर्ब रहेकोमा यस वर्ष १३.५ अर्ब रहेको, व्यापार सन्तुलन ११६.५ अर्ब ऋणात्मक रहेकोमा यस वर्ष पनि ११५.७ अर्ब ऋणात्मक देखिएको छ। त्यस्तै, बजेट खर्च २०७९ श्रावणमा १.२४ प्रतिशत रहेकोमा २०८० श्रावणमा १.९ प्रतिशत देखिएको छ।

Leave A Reply

Your email address will not be published.