इजरायलद्वारा बीपीको दुर्लभ भाषण राष्ट्रपतिलाई उपहार

0

काठमाडौं \  राष्ट्रपति रामचन्द्र पौडेललाई इजरायले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको दुर्लभ  भाषण उपहारस्वरुप प्रदान गरेको छ। इजरायली राजदूत हनन गोदेर गोल्डबर्गरले मंगलबार राष्ट्रपति कार्यालयमा बीपीको सो भाषण उपहारस्वरुप हस्तान्तरण गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो।

तत्कालीन प्रधानमन्त्री  बीपी कोइरालाको कार्यकालमा सन् १९६० मा इजरायलसँग दौत्य सम्बन्ध स्थापना भएको थियो।  सन् १९४८ मा राज्यका रुपमा स्थापित इजरायलसँग बीपी कोइरालाले सिंगो विश्वले स्वतन्त्र अस्तित्व स्वीकार नगरिसकेको अवस्थामा स्वतन्त्र राष्ट्र स्वीकार गर्दै दौत्य सम्बन्ध स्थापना गर्नुभएको थियो।

सो दौत्य सम्बन्ध कायम भएपछि सन् १९६० को १५ अगष्टमा इन्टरनेश्लन कन्फ्रेन्स अन साइन्स इन द एडभान्समेन्ट अफ न्यू स्टेट्सको प्रमुख अतिथिको हैसियतमा उद्घाटन गर्दै बीपी कोइरालाले गर्नुभएको भाषण राष्ट्रपति पौडेललाई राजदूत गोदेरले उपहार स्वरुप हस्तान्तरण गर्नुभएको हो।

राजदूत गोदेरले सो भाषण धेरै मेहनतसाथ खोजी गरेर आफूले फेला पारेको र बीपी कोइरालाकै अनुयायी नेपालको राष्ट्र प्रमुख भएका बेला हस्तान्तरण गर्न पाउँंदा खुशी लागेको बताएको पनि सल्लाहकार पोखरेलले जानकारी दिनुभयो। उहाँंका अनुसार राष्ट्रपति पौडेलले बीपीको यस्तो ऐतिहासिक दस्तावेज उपहार उपलब्ध गराएकोमा हर्षित हुँदै धन्यवाद दिनुभएको थियो।

राजदूत गोदेरसँगको भेटमा राष्ट्रपतिले इजरायल सरकारले नेपाललाई रोजगारी तथा कृषि तथा सहकारी क्षेत्रमा गरेको सहयोग प्रदान  गरेकोमा खुशी व्यक्त गर्नुभएको थियो। उहाँले दुई देशबीचको सम्बन्ध र आपसी सहयोग तथा सहकार्य निरन्तर अगाडि बढ्नेमा विश्वास व्यक्त गर्नुभएको थियो।

Leave A Reply

Your email address will not be published.