हेटौंडा \ नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले कांग्रेस मकवानपुरभीत्र आउदैं आएको आन्तरिक विवाद समाप्त पार्नु पर्नेमा जोड दिनुभएको छ । सचिव महतले जिल्लामा देखिएको व्यक्तिगत व्यवहारलाई सुर्धानुपर्ने भन्दै कांग्रेस सुर्धिनु पर्नेमा जोड दिनुभएको छ ।
जिल्लामा हुने कांग्रेसका कार्यक्रमहरुमा खुलेआम एकले अर्कालाई घातअन्तरघातका बाहानामा दोषारोपण गर्दै ढ्वाङ फुक्ने काम बन्द गराई समग्र कांग्रेस पार्टीको हितका लागि काम गर्न सबै नेताहरुमा आग्रह गर्नुभएका छन् ।
बजारमा आएका विभिन्न आरोपप्रत्यारोपले सिंगो मकवानपुर कांग्रेस माथी प्रहार भएको ठहर भएको भन्दै सचिव महतले पार्टी कसैको पेवा नभई सबै कांग्रेसजनहरुको रहेको बताउनुभयो । कार्यकर्ताको भन्दापनि नेतृत्व तहका नेताहरुबीचको आन्तरिक द्धन्दले मकवानपुर कांग्रेस कार्यकर्तामा निराशा छाएको भन्दै कांग्रेसको लोकतान्त्रिक मुल्यमान्यतालाई आत्मसाथ गर्न आग्रह गर्नुभयो ।
उहाँले सिंगो कांग्रेसजनहरुमा निराशा र शिथिलता छायो भने आगामी निर्वाचनमा कस्तो परिणाम आउला भन्दै यस प्रति सजग रहन आग्रह गर्नुभयो । यस अघि जे भयो एक घटनाको रुपमा सम्झेर समस्याहरु भए तहगत रुपमा समाधान गर्दै कार्यकर्ताबीच एक ढिक्का हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेस मकवानपुरको पार्टी संगठन जति बलियो भयो त्यतिनै कांग्रेसीहरुको राजनितिक भविष्य सुरक्षित हुने सचिव महतले सामाजिक सम्मान र प्रतिष्ठामा पुग्नु कांग्रेस भएर नै भएकाले पार्टीलाई दोषारोपण गर्नु गलत प्रवृति रहेको बताउनुभयो ।