तातोपानी नाका आजदेखि मानिस आवतजावतको लागि खुल्दै

0

काठमाडौं \  चीनसँगको तातोपानी नाका आजदेखि मानव आवतजावतको लागि खुल्ने भएको छ । तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासका अनुसार चिनियाँ अधिकारीहरुसँगको बैठकले सो नाका भएर मानव आवतजावत खुला गर्ने निर्णय गरेको हो ।

२०७२ सालको महाभूकम्प र त्यसपछिको कोरोना भाइरस महामारीका कारण तातोपानी नाका पूर्णरुपमा बन्द भएको थियो । आजदेखि सो नाका सञ्चालनमा ल्याउन समझदारी भएको महावाणिज्यदूत नवराज ढकालले जानकारी दिनुभयो । समझदारीमा नाकाबाट यात्रुहरुको आवतजावत खुला गर्ने भनिए पनि तत्कालका लागि भने स्थानीयका लागि मात्रै नाका खुल्ने छ ।

तातोपानीको पारिपट्टीको चिनियाँ बजारसम्म पुग्नका लागि तातोपानीस्थित अध्यगमन कार्यालयले पास वितरण सुरु गरेको छ ।
अध्यागमनले जारी गरेको एकवर्षे अवधिको पास पाएकाहरुले आजदेखि चीनतर्फ प्रवेश पाउने कार्यालयले जनाएको छ । २०७२ सालको महाविनाशकारी भूकम्पपछि तातोपानी नाका पूर्ण रुपमा बन्द भएको थियो ।

दुवै देशले भूकम्पले क्षति पुगेको संरचना पुनर्निर्माण गरेपछि १४ जेठ २०७६ मा यो नाका वस्तु आयात निर्यातका लागि सञ्चालनमा आएको थियो । तर, कोरोनाभाइरस महामारी विश्वभर फैलिएपछि ११ चैत २०७६ मा नाका पुनः बन्द भएको थियो । कोभिड–१९ पछि नाका खुल्ने र बन्द हुने पटक–पटक भएपनि यात्रु आवतजावतका लागि नाका सञ्चालनमा आएको थिएन ।

Leave A Reply

Your email address will not be published.