नेपालको वैदेशिक ऋणभन्दा आन्तरिक ऋण वृद्धि भइरहेको छ : पूर्वअर्थमन्त्री पाण्डे

0

काठमाडौं \  नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले नेपालको वैदेशिक ऋण भन्दा पनि आन्तरिक ऋण वृद्धि भइरहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा अन्य देशको भन्दा फरक समस्या रहेको भन्दै पछिल्लो ७ वर्षको अन्तरालमा मात्रै १० खर्ब बढी आन्तरिक ऋण बढेको बताउनुभयो ।

पूर्वमन्त्री पाण्डेले नेपालको बाह्य र आन्तरिक ऋण बराबर जस्तो रहेको उल्लेख गर्नुभयो । उहाँले आन्तरिक ऋणको वृद्धि तिब्र रुपमा बढ्दै गएकाले आगामी दिनहरुमा आन्तरिक ऋण वैदेशिक ऋण भन्दा बढी हुने अवस्था देखिएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षको बजेटमा पनि २४० अर्ब आन्तरिक ऋण लिने घोषणा रहेको भन्दै वर्तमान अर्थतन्त्रको अवस्था हेर्दा सबै लिनुपर्ने देखिएको बताउनुभयो ।

पूर्वमन्त्री पाण्डेले सरकारलाई आन्तरिक ऋण चुनौति र महँगो दुबै भइरहेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्ष सरकारको लागि थप चुनौति र जटिलता रहेको बताउनु भयो । उहाँले सरकारले चालु आर्थिक वर्षको पहिलो महिना देखि नै लक्ष्य अनुसारको राजश्व संकलन हुन नसकेको बताउनुभयो ।

पूर्वमन्त्री पाण्डेले भारतले नेपालमा चामल निर्यात गर्दा २० प्रतिशत भ्याट लगाउने र यता सरकारले १३ प्रतिशत भिएटी लगाउने कुराले अर्को वर्ष मान्छेहरु खान नपाएर मर्ने अवस्था आउन सक्ने बताउनुभयो । उहाँले आन्तरिक उत्पादन छैन तर सरकारले कर लगाएको भन्दै खाद्यान्न लगायतका वस्तुहरु महँगो हुने र जनता मारमा पर्ने अवस्था रहेको बताउनुभयो ।

पूर्वमन्त्री पाण्डेले सरकारले ६ प्रतिशत मूल्यवृद्धि कायम गर्ने भनेपनि १० प्रतिशत माथि मूल्यवृद्धि पुग्ने लक्षण देखिएको दाबी गर्नुभयो । उहाँले बल, वृद्धि र पैसा भएकाहरु युवाहरु विदेश जाने पठाएर केही नभएकाहरुलाई लिएर सरकारले देश बनाउने कुराले मुलुक समृद्ध हुन नसक्ने बताउनुभयो ।

पूर्वमन्त्री पाण्डेले नेपालमा भारत र चीनबाट मात्रै ठूलो सख्यामा पर्यटक भित्र्याउनसके भने अर्थतन्त्रमा ठूलो स्पेस रहेको बताउनुभयो । उहाँले मुलुक आर्थिक रुपमा समृद्ध हुनको लागि विदेशी मुलुकहरुको सहयोग पनि अपरिहार्य रहेको बताउनुभयो । उहाँले अवसर नदेखेर विदेश जाने युवाहरुलाई स्वदेशमा नै राखेर मुलुकको क्षमता विकास गरी स्वरोजगार बनाउन सक्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.