अठार वर्षअघि खुकुरी देखाएर लुट्ने समूहका नाइके पक्राउ

0

कञ्चनपुर, १४ असोज । अठार वर्षअघि नकाब लगाएर महाकाली नदी किनार क्षेत्रमा कञ्चनपुरको दोधारा–चाँदनीका एक नागरिकलाई लुट्ने समूहका नाइके पक्राउ परेका छन् । नेपाल प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान टोली महाकालीले बुधबार दोधारा–चाँदनीका नागरिक रनतबहादुर नारालाई नकाब लगाएर लुट्ने नरेश रानालाई पक्राउ गरेको हो ।
अनुसन्धान टोली महाकालीका इन्चार्ज प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहारीले रानालाई उनकै निवास भीमदत्त नगरपालिका– ६ वनगाउँबाट पक्राउ गरेको जानकारी दिनुभयो । उहाँका अनुसार रानाले १८ वर्षअघि अर्थात् २०५४ कात्तिक ६ गते रतनलाई दोधारा घरदेखि महेन्द्रनगर आउने क्रममा महाकाली नदी किनार क्षेत्रमा कुखुरी देखाएर नगद रु एक लाख, २६ हजार ८०० लुटेको थियो । पैसा लुटेको आरोपमा जिल्ला अदालत कञ्चनपुरले २०५६ असोज ९ गतेको निर्णयले चार वर्ष दुई महिना कैद सजाय तोकेको थियो ।
अदालतले तोकेको सजाय भुक्तान नगरेका कारण रानालाई पक्राउ गरी अदालत चलान गरिएको समेत क्षेत्रीय अनुसन्धान टोली महाकालीका इन्चार्ज जोहारीले बताउनुभयो । रानासँगका अन्य लुटेराहरु फरार भएको इन्चार्ज जोहारीले बताउनुभयो । विगत दुई वर्षदेखि क्षेत्रीय टोलीले अदालतबाट कैद तोकेका तर कैद र दण्ड भुक्तान नगरेका फरार अभियुक्तलाई पक्रँदै अदालत पेस गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.