क्यानको बागमती प्रदेश अध्यक्षमा उठ्ने पारस खड्काको घोषणा

0

काठमाडौं \ नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ क्यानको बागमती प्रदेश अध्यक्षमा उम्मेद्‍वारी घोषणा गरेका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पारसले बागमतीका ४ जिल्लाको समर्थनसहित बागमती प्रदेश अध्यक्षमा उठ्न लागेको घोषणा गरे । उनी काठमाडौं जिल्ला क्रिकेट संघका कार्य समिति सदस्य हुन् ।

पारसलाई काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्षहरुले समर्थन गर्ने घोषणा गरेका छन् ।

प्रदेश संरचनालाई कसरी बलियो बनाउने भन्ने सन्दर्भमा छलफल गर्दा अहिलेका महत्वपूर्ण व्यक्ति खड्का भएको र उनमा लिडरसिप क्षमता पनि भएकाले उनलाई प्रदेश अध्यक्षमा अघि बढाउन आफूहरु सहमति भएको भक्तपुर जिल्ला क्रिकेट संघका अध्यक्ष मनिषराज पाण्डेले बताए ।

उनीहरुबीच उपाध्यक्षमा मकवानपुर, सचिवमा ललितपुर र काेषाध्यक्षमा भक्तपुर जिल्ला क्रिकेट संघले तोकेका व्यक्तिलाई सहयोग गर्ने सहमति पनि भएको छ ।

काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घलेले पारसलाई अध्यक्षकाे रुपमा अघि सारेकाे बताउँदै बागमती प्रदेशका बाँकी जिल्ललाई पनि पारसलाई नै समर्थन गर्न आग्रह गरे । बागमती प्रदेशमा चितवन र नुवाकोटमा पनि क्रिकेट संघ छ ।

Leave A Reply

Your email address will not be published.