राष्ट्रपति पौडेलले भने ‘ एक्टिभिज्म देखाउन खोजेको होइन, राष्ट्रको चिन्ता हो’

0

काठमाडौं \  राष्ट्रपति रामचन्द्र पौडेलले दलहरुबीच विवाद, द्वन्द्व र तिक्तता देखापर्ने गरेपनि राष्ट्रिय स्वार्थ र हितका लागि वार्ता, संवाद र छलफलबाट निकास हुनु पर्नेमा जोड दिनु भएको छ ।

मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित सर्बलदीय बैठकमा राष्ट्रपति पौडेलले नेपालका राजनीतिक दलहरूले विगतमा विषम परिस्थितमा पनि संवादकै माध्यमबाट समस्या सुल्झाएका कैयौ उदाहरणहरू रहेको भन्दै कुनै पनि समस्यामा वार्ता र सम्वादबाटै समस्या सुल्झाउन दलहरुलाई आग्रह गर्नु भएको हो । उहाँले लोकतन्त्रको सुन्दर पक्ष भनेकै समस्या समाधानका लागि दलहरुबीचको आपसी छलफल रहेको उल्लेख गर्नुभयो ।

बैठकमा राष्ट्रपति पौडेलले देशको आर्थिक अवस्थामा शिथिलता देखिएको स्थितिमा सम्पत्ति शुद्धिकरणसम्बन्धी ऐन समयमा पास गर्न नसकिए नेपालमा आउने विदेशी लगानी रोकिन सक्ने र नेपालको साख अन्तर्राष्ट्रिय जगतमा कमजोर हुने होकि भन्नेतर्फ सचेत भएर त्यसका लागि कानुन बनाउन आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । त्यसैगरी बैठकमा राष्ट्रपति पौडेललेआफूले एक्टिभिज्म (सक्रियता) देखाउन खोजेको नभई लोकतन्त्रका लागि आफू धेरै दुःख पाएको कार्यकर्ता भएकाले राष्ट्रप्रतिको चिन्ता दलहरुसँग भेटेर राखौं भन्नका लागि बैठक बोलाएको पौडेलले बताउनु भएको थियो ।

संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने जिम्मेवारी नेपालको संविधानले राष्ट्रपतिलाई दिएको भन्दै उहाँले संंविधानमा रहेको यस्तो जिम्मेवारी कसरी पुरा गर्न सकिन्छ भन्नेमा आफू सधैँ चिन्तित रहेको पनि राष्ट्रपति पौडेलको भनाई रहेको थियो । सुन तस्करी प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत साउन १० यताको संसद बैठक अबरुद्ध गरिरहेको अवस्थामा हिजो सोमबार दलहरुबीच सहमति भएर संसदको अवरोध हटाउन दलहरुबीच भएको सहमतिप्रति पनि राष्ट्रपति पौडेलले खुशी ब्यक्त गर्नु भएको छ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । त्यसअघि राष्ट्रपति पौडेलले सर्बदलीय बैठक बोलाउनु भएको हो । बैठकमा एमालेका नेताहरु भने अनुपस्थित रहेका थिए ।

Leave A Reply

Your email address will not be published.