ललिता निवास प्रकरण : दुई पूर्वप्रमसँग लिइयो बयान

0

काठमाडौ \ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई बयान दिनुभएको छ । पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईले ललिता निवास प्रकरणमा आफ्नातर्फबाट सोमबार बयान दिनुभएको हो ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई सिआइबीले पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा बयान लिएको पार्टीका सम्मानित नेता झलनाथ खनालले बताउनुभयो । “उहाँ (माधवकुमार नेपाल) लाई प्रहरीका अफिसरले आज दिउँसो पार्टी कार्यालयमा सोधपुछ गरे भन्ने थाहा पाएँ,” उहाँले भन्नुभयो, “अरू के के भयो । के के रिपोर्ट लियो थाहा भएन । अरू औपचारिक रूपमा बाहिर आउँदै गर्ला ।”

यस्तै नेसपा अध्यक्ष डा. भट्टराईलाई सिआइबीले सोमबार बिहान बयान लिएको पार्टीका नेता रोशन पोखरेलले बताउनुभयो । बिहान साढे आठदेखि साढे नौ बजेसम्म डा. भट्टराईले बयान दिनुभएको थियो । नेता पोखरेलले बयानमा के के प्रश्न सोधियो, के के उत्तर आयो भन्ने बारेमा आफूलाई जानकारी नभएको बताउनुभयो ।

गत साउन २१ गते सर्वोच्च अदालतले मन्त्रीपरिषद्को बैठकको २०६६ चैत २९ गते, २०६७ वैशाख ३१ गते, २०६७ साउन २८ गते र २०६९ असोज १८ गते भएका निर्णय र त्यस निर्णयमा सहभागीमाथि अनुसन्धान गर्न आदेश दिएको थियोे । २०६६ र २०६७ सालमा पार्टी अध्यक्ष नेपाल प्रधानमन्त्री हुनुहुन्थ्यो भने २०६९ सालमा डा. भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो । सर्वोच्चले बयान लिन बाटो खुला गरिदिएपछि दुवै पूर्वप्रधानमन्त्रीले आआफ्नोतर्फबाट बयान दिनुभएको हो ।

यसै गरी सिआइबीले तत्कालीन मन्त्री चन्द्रदेव जोशीसँग पनि बयान लिएको छ । सिआइबीले सोमबार प्रतिवेदन सरकारसमक्ष बुझाउने भनिए पनि बुझाएको छैन । पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको बयान सकिएपछि प्रतिवेदन दिने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.