बेलायतबाट ‘एनआरएनएको नयाँ नेतृत्व सर्वसम्मत बनाउने उद्घोष’

0

 बेलायत \  नेपालमा हुने ११ औं महाधिवेशन गैरआवासीय नेपाली संघ (एनआरएनए) मा चहलपहल सुरु भएको छ । संघका ५९ देशका राष्ट्रिय समितिका निर्वाचन भएसँगै संघका केन्द्रीय नेताहरु बेलायतमा भेला भएर संघको आगामी नेतृत्वको बारेमा चर्चा गरेका छन् ।
एनआरएनए बेलायतले आइतबार अल्डरशटमा आयोजित कार्यक्रममा जापान, अमेरिका, क्यानाडा, बेल्जियम, नेदरल्याण्ड, पोर्चुगल, माल्टालगायतका देशका प्रतिनिधिहरुले संघको नयाँ नेतृत्वका लागि निर्वाचनभन्दा सहमतिमा जान सुझाव दिएका छन् ।

संघका अध्यक्ष कुल आचार्यले संघको अभियानमा उतारचढाव आए पनि केही महत्वपूर्ण उपलब्धि भएको बताएका थिए । उनले गैरआवासीय नेपाली नागरिकता दिनको लागि सरकारद्वारा प्रस्तावित नागरिकता सम्बन्धी कार्यविधि अव्यवहारिक रहेको बताएका थिए ।
गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले संघको आगामी नेतृत्व चयन सर्वसम्मतबाट गरिनुपर्ने भन्दै सहमति खोज्न राजनीतिक दलका ढोका हानेर सम्भव हुने बताएका थिए । संघको नेतृत्वको लागि आकांक्षी रहेका डा. शर्माले अध्यक्षका अर्का प्रत्यासी महेश श्रेष्ठलाई लक्षित गर्दै भने ‘आज सबै वक्ताहरुले सहमतिको पक्षमा उभिनु भयो, म पनि सहमतिको पक्षमा छु तर सबैको मन जित्न नसक्ने व्यक्ति सहमतिको उम्मेदवार बन्न सक्दैन ।’ सहमतिमा नेतृत्व चयन गर्ने भए खुल्ला भएर छलफल गर्न सकिने उपाध्यक्ष शर्माको भनाइ थियो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष महेश श्रेष्ठले गैरआवासीय नेपाली संघको जननी देश बेलायतबाट संघको आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुका साथै संघको अभियानमा सबै पक्षलाई समेटर लैजाने प्रतिवद्धता व्यक्त गरेका थिए । ‘विषम परिस्थितीबाट बाहिर निस्कन सहमति, सहकार्य र एकता माध्यमबाट अघि बढ्नु पर्छ, श्रेष्ठले भने,‘सकेसम्म सहमतिकै आधारमा नेतृत्व चयन हुनुपर्छ ।’

कार्यक्रममा संघका उपाध्यक्ष नारायण आचार्यले गैरआवासीय नेपाली संघको अभियानमा बेलायतबासी नेपाली समुदायको उल्लेख्य भूमिका रहेको चर्चा गरेका थिए । उनले आगामी दिनमा सबैलाई बचाउन र समेट्न सक्ने नयाँ नेतृत्वको खाँचो रहेको तर्क राखेका छन् ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका महासचिव डा. केशव पौडेलले एनआरएनए राष्ट्रिय समितिका निर्वाचनहरु प्रयोग भएको फेसभेरिफिकेशन र एमआईएस प्रणाली सफल भएको बताए । उनले गैरआवासीय नेपाली संघको १० औं महाधिवेसन भएको तिक्तता मेटेर ११ औं महाधिवेसन गर्न संस्था सक्रिय रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलायतका लागि नेपाल राजदुत ज्ञानचन्द्र आचार्यले गैरआवासीय नेपाली संघले देशको आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । आचार्यले एनआरएनए यूकेले भूकम्प, कोरोना महामारी जस्ता प्राकृतिक प्रकोपको बेला नेपाललाई गरेको सहयोगको स्मरण गर्दै अगामी कार्यकालको सफलताको लागि शुभकामना दिए ।

गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष हितकाजी गुरुङको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता तथा सांसद सोविता गौतम, संघका उपहासचिव रामशरण सिम्खडा, संघका सचिव गंगाधार गौतम, नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, एनआरएनए प्रोचुर्गलका पूर्वअध्यक्ष भीमकमल केसी, क्यानाडाका निवर्तमान अध्यक्ष दीपक गौतम, एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धि सुवेदी, एनआरएनए सहकोषाध्यक्ष कृष्ण तिमल्सिना, युरोप क्षेत्रीय उपसंयोजकद्धय दयानिधि सापकोटा, युरोप युवा संयोजक रोर्वट लिम्बु, एनआरएनएका सल्लाहकार विश्व आर्दश पण्डित, काउन्सिलर जीत रानाभाट, प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष टुंगा भुषाल, पत्रकार चिरन शर्मा लगायतले आफ्नो भनाई राखेका थिए ।

Leave A Reply

Your email address will not be published.