सीआईबीले आज बुझाएन ललिता निवासको अनुसन्धान प्रतिवेदन

0

काठमाडौँ \  बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ५५ दिनदेखि अनुसन्धान गरिरहेको छ । आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने गरी तयारी गरे पनि प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छैन ।

ब्युरोले जग्गा हिनामिना आरोपमा १८ जनालाई हिरासतमा राखेर ‘सङ्गठित किर्ते’ मुद्दामा अनुसन्धान गरिरहेको छ । ‘सङ्गठित किर्ते’ मुद्दामा आरोपितलाई पक्राउ गरेको ६० दिनभित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्छ ।

सरकारले अधिग्रहण गरिसकेको १४७ रोपनी जग्गा माफियासँग मिलेर हिनामिना गरेको मुद्दा अदालतमा लैजान अब प्रहरी र सरकारी वकिलसँग ५ दिनको समय छ । आज ललिता निवासको अनुसन्धान प्रतिवेदन नआएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि न्यौपानेले बताए । उनले भने– ‘अहिलेसम्म आएको छैन, आज आउने सम्भावना देखिएन ।’

अनुसन्धान प्रतिवेदन आएपछि अध्ययन गरेर शुक्रवार अदालतमा मुद्दा दर्ता गर्ने न्यौपानेले जानकारी दिए । केन्द्रीय अनुसन्धान ब्युरोका एकजना अधिकृतले आइतबार अनुसन्धान प्रतिवेदन बुझाउने सम्भावना नरहेको जानकारी दिए । ती अधिकृतले भने– ‘तयारी अझै बाँकी छ ।’

Leave A Reply

Your email address will not be published.