उपप्रधानमन्त्री सिंह र परराष्ट्रमन्त्री पाण्डे भेटवार्तामा व्यस्त

0

न्युयोर्क, १२ असोज । संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा नेपाली प्रतिनिधिमण्डलका नेता एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंह र अमेरिकाका राष्ट्रपति बाराक ओवामाका विशेष सहयोगी एवम् राष्ट्रिय सुरक्षा परिषद् दक्षिण एसिया मामिलाका वरिष्ठ निर्देशक डा पिटर आर लेभ्वाईबीच आज यहाँ भेटवार्ता भएको छ ।
भेटवार्तामा उहाँहरुबीच नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको थियो । नेपालमा लोकतान्त्रिक विधिद्वारा संविधानसभाबाट संविधान जारी भएको र यसमा अमेरिकाको पनि समर्थन रहेको बताउँदै अमेरिकी वरिष्ठ निर्देशक लेभ्वाईले आगामी दिनमा नेपाललाई के कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा चासो राख्नुभएको थियो ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेका अनुसार भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको थियो । साथै लोकतान्त्रिक विधिद्वारा बनेको संविधानमा आफ्नो देशको पनि समर्थन रहेको वरिष्ठ निर्देशक लेभ्वाईले बताउनुभएको थियो । सो भेटमा परराष्ट्रमन्त्री पाण्डे, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास वैरागी, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि दुर्गा भट्टराई र अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीसहितका परराष्ट्र मन्त्रालयका उच्च पदाधिकारीको सहभागिता रहेको थियो ।
यसैगरी परराष्ट्रमन्त्री पाण्डे र संयुक्त राष्ट्रसङ्घका राजनीतिक विभाग मामिलाका उपमहासचिव जेफ्री डी फेलेटम्यानबीच आज संयुक्त राष्ट्रसङ्घ भवन न्युयोर्कमा भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घले नेपालको संविधान निर्माण प्रक्रियालाई शान्तिप्रक्रियाको कोसेढुङ्गा भनेर समर्थन गरिसकेको सन्दर्भमा लोकतान्त्रिक विधिद्वारा जारी भएको संविधानको स्वागत गरिएको र असन्तुष्टका मागलाई वार्ताका माध्यमबाट सम्बोधन गर्नुपर्ने बारेमा छलफल भएको मन्त्री पाण्डेले बताउनुभयो । यसैगरी परराष्ट्रमन्त्री पाण्डे र दक्षिण र मध्य एसियन मामिलाका अमेरिकी सहायकमन्त्री निशा देशाई विश्वालबीच पनि आज यहाँ भेटवार्ता भएको छ ।
सो अवसरमा सहायक विदेशमन्त्री देशाईले लोकतान्त्रिक विधिद्वारा संविधान जारी भएकामा खुसी प्रकट गर्नुभएको थियो । मन्त्री पाण्डेका अनुसार अमेरिकाले लोकतान्त्रिक विधिद्वारा संविधान जारी भएकामा खुसी प्रकट गर्नुका साथै असन्तुष्टका मागलाई पनि सहमतिबाटै समाधान गर्न अग्रसर हुनुपर्ने धारणा राखेको थियो । सो अवसरमा नेपालीले सशस्त्र द्वन्द्वलाई समेत कुशलतापूर्वक शान्तिपूर्वक समाधान गरेको सन्दर्भमा अहिले उठेको मागलाई पनि सहमतिकै माध्यमबाट टुङ्ग्याउन सकिने धारणा राखेको थियो ।
यसैगरी परराष्ट्रमन्त्री पाण्डे र स्विडेनका अन्तर्राष्ट्रिय विकास सहयोग मन्त्री इजावेल लोभिनबीच पनि आज यहाँ भेटवार्ता भएको छ । भेटवार्तामा स्विडेनले नेपालमा संविधान जारी भएकामा खुसी प्रकट गरेको थियो । साथै सो भेटवार्तामा द्विपक्षीय हित र चासो एवम् सहयोगका बारेमा छलफल भएको थियो ।

Leave A Reply

Your email address will not be published.