टीकापुर घटनामा सशस्त्र आईजी दोषी

0

काठमाडौं, १३ असोज । उग्र भीडको आक्रमणमा परी एकजना एसएसपीसहित नौजनाको ज्यान जाने गरी भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामाथि छानबिनका लागि गठित समितिले सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तलाई ‘मुख्य दोषी’ ठहर गरेको छ । राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माको नेतृत्वमा गठित पाँच सदस्यीय समितिले आईजीपी वन्तको निषेधात्मक आदेशका कारण भीडद्वारा बल प्रयोग भई प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेलगायतको ज्यान खतरामा परेपछि पनि फिल्डमा भएका सशस्त्र प्रहरीले प्रतिकारात्मक कारबाही नगरेको र नौजनाको ज्यान गएको ठहर गरेको छ।
भीडको हमलामा एसएसपी न्यौपाने, अन्य सात प्रहरीसँगै एउटा दूधेबालकको ज्यान गएको थियो र दर्जनौं सर्वसाधारण तथा प्रहरी घाइते भएका थिए । छानबिन समितिले उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमलाई प्रतिवेदन बुझाएको थियो।
बालुवाटार स्रोतका अनुसार गौतमले त्यसै साँझ प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर प्रतिवेदनबारे जानकारी दिएका थिए।आफ्नो गलत आदेशलाई ढाकछोप गर्न आईजीपी वन्तद्वारा केही प्रयासहरूसमेत गरिएका थिए। यस क्रममा केही प्रहरी अधिकृतलाई २४ घन्टे लगाएर सरुवा गरेको गृह स्रोतले बतायो। गृह मन्त्रायका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार समितिले प्रतिवेदन बुझाइसकेको र कार्यान्वयनमा आएपछिमात्र यो सार्वजानिक गर्ने नीति मन्त्रालयले बनाएको छ।

Leave A Reply

Your email address will not be published.