बालुवाटार जग्गा प्रकरणमा मेरो संलग्नता छैन: माधव नेपाल

0

काठमाडौं \ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ ।

सोमबार युरेपेली देशहरुको भ्रमण छोट्याएर स्वदेश फर्किनुभएका उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले आफूले सरकारको जग्गा सरकारकै नाममा हुनुपर्छ भनेर सफा मनशायले ७ रोपनी जग्गा सरकारको नाममा फिर्ता गरेको, र कसैलाई मुआब्जा नदिकन कानूनसम्मत ढंगले छुट्याएर काम गरेको बताउनुभयो ।

अध्यक्ष नेपालले आफू पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन जाने अघिल्लो दिन सर्वोच्च अदालतले आफूमाथि अनुसन्धान गर्न आदेश दिएको तर, पूर्वनिर्धारित कार्यक्रममा गएपछि सञ्चारमाध्यमहरुले आफू भागेको भ्रम फैलाएको आरोप लगाउनुभयो ।

नेपालले आफू गोली हान्न लाग्दासमेत नभागेको भन्दै अनुसन्धान गर्नेकुराले नभाग्ने बताउनुभयो । उहाँले आफूले कुनै गलत काम नगरेको भन्दै चुनौतिको सामना गरेर अघि बढ्ने बताउनुभयो । उहाँले जग्गा प्रकरणको छानबिनमा आफ्नो सहयोग रहने बताउनुभयो ।

अध्यक्ष नेपाल साउन २२ गते स्वीजरल्याण्ड, स्पेन, क्रोशिया र युनाइटेड किङडम (युके) लगायतका युरोपेली मुलुकको भ्रमणमा निस्किनुभएको थियो । तर, साउन २१ गते सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि पनि अनुसन्धान गर्न आदेश दिएको थियो ।

सोही प्रसंगपछि आफू विदेश जानु र अदालतको आदेश आउनु संयोग भएको र आफू पूर्वनिर्धारित कार्यक्रमअनुसार विदेश भ्रमणमा भएको बताउनु भएको हो ।

Leave A Reply

Your email address will not be published.