चलचित्र निर्माण एक रचनात्मक विधा हो । रचना राम्रो भयो भने सामान्य विषयवस्तुमा बनेका चलचित्र पनि उत्कृष्ट ठहरिएका छन्, जसका लागि गहिरो अध्ययन, साधना र अनुभव अनिवार्य ठानिन्छ । मौलिकता, सामाजिक परिवेश, पात्र, संवाद र दर्शकको मनोविज्ञानलाई बुझेर निर्माण गरिएका चलचित्र सफल ठहरिएका छन् । समाजको वास्तविकतालाई टपक्कै टिपेर उतारिएका कतिपय चलचित्रले नेपाली सिने उद्योगमा चमत्कार गरिरहेका छन् । चलचित्रको मेरुदण्ड मानिने स्क्रिप्ट र विषयवस्तुमा समेटिएका कतिपय सन्दर्भले नेपाली समाजको बदलिँदो चित्रको प्रतिनिधित्व गरिरहेका हुन्छन् । पछिल्लो समय नेपालको राजनीतिक र सामाजिक परिवर्तनको सानो अंश चलचित्रमा पनि देखिने गरेको छ ।
सामाजिक परम्परा र संस्कारलाई चुनौती दिने त्यस्ता विषयवस्तुमध्ये यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिका कथा पनि एक हो । उनीहरूको जीवन भोगाइ चलचित्रका कथा बन्न थालेका छन् । प्रेम र आवेगको प्रतीक मानिने सुनगाभा फूलकै नाम दिएर निर्माण भएको चलचित्र ‘सुनगाभा’ त्यसको प्रतिनिधि हो ।
दुई युवतीबिचको प्रेमकथा समेटिएको यस चलचित्रमा युवती–युवतीबिच झाँगिएको प्रेम देखाइएको छ । अभिनेत्री निशा अधिकारी र दिया मास्के समलिङ्गी भूमिकामा देखिनुभएको छ । यस्तो प्रेमलाई नेपाली समाजले अझै स्विकार्न सकिरहेको छैन ।
सुनगाभाभन्दा अघि बनेका कतिपय चलचित्रका केही पात्रलाई समाजमा भिन्न यौनिक पहिचान बनाएका व्यक्तिका रूपमा देखाउने गरिएको थियो । त्यस्ता भूमिका नेपाली दर्शकका लागि नौलो लाग्ने गर्छ । पुरुष–पुरुषबिच र महिला–महिलाबिचको प्रेम सम्बन्ध मात्र होइन, तेस्रोलिङ्गी, अन्तरलिङ्गी अझ भनौँ एलजिबिटिआइक्यु सबै समुदायका व्यक्तिको जीवन भोगाइ, सङ्घर्ष र अभिनय नेपाली चलचित्रमा देखिन थालेका छन् । आफ्नो लैङ्गिक पहिचान खुलाएर व्यक्तिहरू समाजमा सार्वजनिक हुने क्रमसँगै चलचित्रमा पात्रहरू पनि सिर्जना गरिन थालिएको छ ।
अभिनेता दयाहाङ राईको विचारमा पछिल्लो समय यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू चलचित्रका पात्र बन्ने गरेका छन् । “पहिला अल्पसङ्ख्यकलाई फिल्ममा उडाउने चलन थियो । यो अझै पनि कायम देखिन्छ तर अब सोच बदल्नु पर्छ । मान्छेको अस्तित्व र पहिचानलाई स्विकार्नु पर्छ । हाम्रो उपस्थितिको आवश्यकताको तालमेल यो समाजमा मिल्नु पर्छ,” उहाँले भन्नुभयो । हुन त हिजोआज मायाको परिभाषा बदलिँदो छ । विपरीत लिङ्गीसँग हुने आकर्षण र माया मात्र माया होइन, जोसँग भावना, स्वभाव र मनोविज्ञान मिल्छ, उसैसँग हुने माया पनि माया हो । त्यसकै प्रतिनिधिका रूपमा सर्ट फिल्म ‘मिरा–दी टलेस् अफ लाइफ’ मा समलिङ्गी माया देखाइएको छ ।
फिल्मकी निर्माता निर्देशक अनिता पण्डितले दुई व्यक्तिबिच एक असाधारण सम्बन्ध हुन्छ, जुन परस्पर विश्वास, सम्मान र स्नेहसँग जोडिन पुग्छ वा जसमा भावना र अनुभव मिल्छ । त्यसलाई फिल्ममा उतारिएको प्रतिक्रिया दिनुहुन्छ । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘मारुनी’ को सन्देश पनि पण्डितको प्रतिक्रियासँग मिल्दो छ । चलचित्रमा समेटिएको कथावस्तु र पात्रको भूमिका समलिङ्गी मायाप्रेमसँग सम्बन्धित छ ।
समलिङ्गी अधिकारकर्मी सुनिलबाबु पन्त र प्रद्युम्न मिश्रले निर्माण गर्नुभएको चलचित्र ‘नीलो फूल’ मा बलजफ्ती गरिएको विवाहसम्बन्धी कथा समेटिएको छ । नायक सागर घिमिरे र नायिका उर्मिला कार्की अभिनित उक्त चलचित्रमा समलिङ्गी पुरुषलाई परिवारको करकापमा महिलासँग विवाह गरिएको छ । बिहेपछि ती पुरुषले “मलाई महिलाप्रति आकर्षण छैन । मेरो यौनचाहना पुरुषप्रति मात्र छ,” भन्ने संवादले चलचित्रलाई रोचक बनाएको छ र समाजलाई झस्काएको छ ।
निर्देशक पन्त भन्नुहुन्छ, “समाजमा फरक लैङ्गिक पहिचान भएका व्यक्तिहरू प्रशस्त छन् । उनीहरूको पहिचान र भावना दबाइएको छ । करकापमा बिहे गर्ने चलन छ, जसका कारण दुई व्यक्तिको भविष्य अन्धकारमा धकेलिएको छ । यो चलचित्रमा समलिङ्गीका कुरा बाहिर आए पनि जबरजस्ती बिहे गरिदिएको कुरा बाहिर नआउने भएकाले वास्तविकता सार्वजनिक गर्ने प्रयास गरिएको हो ।” ‘लप्पन छप्पन २’ मा चमेरो अर्थात् चन्द्रप्रकाश थापा नामको पात्रलाई ट्रान्सजेन्डरको भूमिकामा देखाइएको छ ।
तेस्रोलिङ्गीकै विषयमा चलचित्र ‘गुलावी’ निर्माणको चरणमा छ । ‘सकुन्तला’ मा नायक राजेश हमालको गेटअपलाई लिएर निकै चर्चा भएको थियो । तेस्रोलिङ्गी महिलाका रूपमा देखिनुभएका हमालको तस्बिर अहिले उत्तिकै चर्चामा छ । पुरुषका रूपमा जन्मेर महिला बनेकी नुवाकोटकी अञ्जली लामा तेस्रोलिङ्गी समुदायबाट अन्तर्राष्ट्रिय जगत्मा प्रतिनिधित्व गर्ने पहिलो मोडल हुनुहुन्छ । उहाँ बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसँगै ‘वुमन्स स्टोरिज’ मा अनुबन्धित नै हुनुभएको थियो । तेस्रोलिङ्गी वा समलिङ्गीको कथा बोकेको ‘अर्को जुनी’ ले पनि समुदायको प्रतिनिधित्व गरेको छ ।
फिल्म ‘हाइवे’, ‘कान्छी’ साथै टेलिफिल्म ‘सिंहदरबार’ मा अभिनय गरिसक्नुभएका अधिकारकर्मी तेस्रोलिङ्गी भूमिका श्रेष्ठ बलिउड र हलिउडमा एलजिबिटिआइक्यु समुदाय व्यक्तिको अभिनय मात्र होइन, अधिकारका बारेमा पनि प्रशस्त चलचित्र बनिरहेको बताउनुहुन्छ । “नेपाली फिल्म क्षेत्र बिस्तारै परिमार्जित हुँदै छन् । हाम्रा दुःख, पीडा, सङ्घर्ष, समाज र राज्यको दृष्टिकोण चलचित्रमा समेटिन थालेका छन् । हामीलाई अश्लील र हट सिनमा मात्र प्रयोग गर्ने निर्माता निर्देशकहरूको मन बदलिन थालेको छ ।”
फिचर फिल्म, टेलिफिल्म, वृत्तचित्र, लघु चलचित्रमा भन्दा म्युजिक भिडियोमा फरक यौनिक पहिचान भएका व्यक्तिहरूको भूमिका प्रशस्त देख्न पाइन्छ । रचना रिमालले गाउनुभएको ‘भतभती पोल्छ’ गीतमा पल शाहको भूमिका समलिङ्गी पुरुषका रूपमा देख्न पाइन्छ । भिडियोमा समलिङ्गी प्रेम सम्बन्ध, बिहे अनि समाजले हेर्ने दृष्टिकोणलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ । रीमा विश्वकर्मा र बेनिशा हमाल अभिनित अन्जु पन्तको ‘मैले भुल्न सकिनँ’ बोलको गीतको भिडियोमा समलिङ्गी प्रेम सम्बन्ध देखाइएको छ । गायक तथा कलाकार श्याम रानाले त समुदायको अधिकारका पक्षमा खुलेरै गीत नै रेकर्ड गराइसक्नुभएको छ ।
गीतकार नमिता दवाडीको ‘परिचय एउटा कथा’ बोलको पुरुष शरीरभित्रको महिला मनोविज्ञान कारुणिक हिसाबले प्रस्तुत गरिएको छ । मेल र फिमेल भर्सनमा आएको गीतमा समलिङ्गी सम्बन्ध र सङ्घर्षको दुःखान्त देखाइएको छ । “समाजमा तेस्रोलिङ्गीहरूले भोग्नु परेको पीडा र हेयको दृष्टिमाथि प्रश्न उठाउन खोजेको हुँ । यी समुदायका व्यक्तिहरू समाजमा स–सम्मान, समान अधिकार पाएर बाँच्न पाउनु पर्छ भन्ने आशय गीतमार्फत व्यक्त गरेको हुँ,” उहाँले भन्नुभयो ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारमा क्रियाशील ‘मायाको संसार’ संस्थाका अध्यक्ष दिनेशकुमार थिङ (सुनिता लामा) पछिल्लो समय यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबारे म्युजिक भिडियो, चलचित्र निर्माण हुने क्रम बढेकोमा खुसी व्यक्त गर्नुहुन्छ । “फिल्म बन्नु भनेको हामीलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन हुनु हो ।
पहिचान लुकाएर बाँचिरहेका समलिङ्गी, तेस्रोलिङ्गी, अन्तरलिङ्गी निशङ्कोच पहिचान खुलाएर बाहिर आउनु राम्रो हो । समुदायका साथीहरू आफैँ अभिनयमा पनि देखिन थाल्नुभएको छ । सबैको साथ र सहयोग पाए पहिचान लुकाएर बसेका समलिङ्गी महिला, समलिङ्गी पुरुष, तेस्रोलिङ्गी महिला, तेस्रोलिङ्गी पुरुष, अन्तरलिङ्गी महिला र अन्तरलिङ्गी पुरुषलाई अधिकार माग्न अझै सहज हुने थियो ।”
बलिउड, हलिउड मात्र होइन, अन्तर्राष्ट्रियस्तरमा निर्माण भएका चलचित्र र सेलिब्रेटी कलाकारको भूमिकाले समलिङ्गी तेस्रोलिङ्गी पहिचान थप प्रस्ट पार्न सहयोग पु¥याइरहेको छ । किनकि गत वर्ष मात्र साउदी अरबलगायतका देशमा समलिङ्गी पात्र भएका कारण प्रतिबन्ध लगाइएको फिल्म ‘डा. स्ट्रेन्ज–इन द मल्टिभर्स अफ म्याडनेस’ अरबियन देशमा रिलिज हुन नै पाएन ।
ल्याटिन पप गायक रिकी मार्टिन समलिङ्गी पुरुष रहेको धेरै पछि मात्र पत्ता लागेको थियो । बेलायती गायक एल्टन जोनले समलिङ्गी विवाह गरेर विश्वभर चर्चा कमाउनुभएको थियो । अमेरिकी पपस्टार म्याडोनाले ६४ बर्षको उमेरमा आफू समलिङ्गी भएको सार्वजनिक गर्नुभएको थियो । सेलिब्रेटीले आफ्नो पहिचान सार्वजनिक गरिदिनाले पनि सिने उद्योगलाई सहज भइरहेको छ र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका कथा, सङ्घर्ष, वेदना र कथा उतार्न सहज भएको छ ।
समलिङ्गी मुद्दामा केन्द्रित रहेर सन् १९९६ मा निर्मित ‘फायर’ नै पहिलो समलिङ्गी चलचित्र मानिन्छ, जसलाई सामाजिक विद्रोहका रूपमा पनि व्याख्या गरिएको थियो । दीपा मेहताको उक्त चलचित्रमा ‘लेसबियन सम्बन्ध’ लाई देखाइएको छ । यसको मुख्य भूमिकामा चर्चित अभिनेत्री शबाना आजमी र नन्दिता दास रहेका छन् । कल्पना लाजिमीले सन् १९९७ मै निर्माण गर्नुभएको ‘दरिमियाँ’ मा तेस्रोलिङ्गीको सङ्घर्ष, पीडा, वेदना देखाइएको छ ।
अभिनेत्री कङ्गना रनावत र पासर अरोडाको चलचित्र ‘रज्जे’ मा महेश मांजरेकरले तेस्रोलिङ्गीको भूमिका निर्वाह गरेर सबैको मन जित्नुभएको छ । सन् १९९७ मा प्रदर्शनमा आएको चलचित्र ‘तमन्ना’ मा कलाकार परेश रावलले तेस्रो लिङ्गीको भूमिकामा खेल्नुभएको थियो । जुही चावला र सञ्जय सुरीको मुख्य भूमिका रहेको ‘माइ ब्रदर निखिल’ मा देखाइएको समलिङ्गी भूमिकाले अन्तर्राष्ट्रिय स्तरमै तारिफ पाएको थियो ।
समलिङ्गी पात्र र जीवन भोगाइमा आधारित सन् २०१० मा आएको चलचित्र ‘आई एम’ले राष्ट्रिय पुरस्कार नै हात पारेको थियो । ‘बम्बे टाकिज’, ‘अलीगढ’ जस्ता चलचित्रमा देखाइएका केही पात्र र उनीहरूको अभिनयले समलिङ्गीको मुद्दामा थप सहजीकरण गरेको पाइन्छ । ‘गे’ अर्थात् समलिङ्गी पुरुष हुनु कुनै अपराध होइन भन्ने सन्देश बोकेको चलचित्र ‘कपुर एन्ड सन्स’ ले रूढिवादी समाजलाई खरो प्रहार नै गरेको छ । –युवराज गौतम, गोरखापत्र