सरकार र गौर हत्याकाण्ड पीडित पक्षबीचको सम्झौताप्रति जसपाको आपत्ति

0

काठमाडौं \ जनता समाजवादी पार्टी (जसपा)ले सरकार र गौर हत्याकाण्डका पीडित पक्षबीच गरिएको सम्झौताप्रति आपत्ति जनाएको छ ।जसपाले शुक्रबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनगरी आफ्नो पार्टी र निर्दोष नागरिकहरुलाई फसाउने गरी सो सम्झौता भएको भन्दै आपत्ति जनाएको हो ।

आफ्नो पार्टी र १३० जना भन्दा बढी नागरिकलाई फसाउने गरी गरिएको सो सम्झौताप्रति खेद व्यक्त गरिएको पार्टीका प्रवक्ता मनिषकुमार सुमनले बताउनुभयो । उहाँले सो सम्झौताको विषयमा सरकारले पुनर्विचार नगरे सरकारबाट बाहिरिन सक्ने चेतावनी समेत दिनुभयो ।

जसपाले सो हत्याकाण्डमा तत्कालिन माओवादी केन्द्र र त्यसका नेता प्रभु साह मुख्य दोषी रहेको आरोप लगाउँदै आएको छ । प्रवक्ता सुमनले राष्ट्रिय मानव अधिकार आयोग लगायतका सरकार आफैंले गठन गरेको विभिन्न आयोगहरुले पनि सो हत्याकाण्डमा आफ्नो पार्टीको संलग्नता नरहेको पुष्टि भएपनि सरकारले आफ्नो पार्टीप्रति प्रतिशोध राखेर गौर हत्याकाण्डका पीडितसँग साउन २३ गते सम्झौता गरेको आरोप लगाउनुभयो ।

जसपाले सो हत्याकाण्डको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न पनि सरकारलाई दवाव दिएको छ ।

Leave A Reply

Your email address will not be published.