विद्युत प्राधिकरणको गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रूपैयाँ नाफा

0

काठमाडौं \  नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष ०७९/८० को अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको बताउनुभएको हो । उहाँले आर्थिक वर्ष ०७७/७८ मा प्राधिकरणको नाफा ६ अर्ब १० करोड रूपैयाँ रहेकोमा आर्थिक वर्ष ०७८/७९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड पुगेको भए पनि आर्थिक वर्ष ०७९/८० मा नाफा घटेको बताउनुभयो ।

निर्देशक घिसिङले गत आवमा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुको विद्युत उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत आयात केही बढ्दा नाफा प्रभावित बनेको बताउनुभयो । उहाँले प्राधिकरणले विद्युत बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्ष अघि करिब ८१ अर्ब रूपैयाँ रहेकोमा अहिले बढेर करिब १ खर्ब १८ अर्ब पुगेको उल्लेख गर्नुभयो। ।

निर्देशक घिसिङले प्राधिकरणको सञ्चिति नाफा ११ अर्बबाट दुई वर्षमा बढेर ३६ अर्ब ६७ करोड रूपैयाँ पुगेको बताउनुभयो । उहाँले प्राधिकरणको वास्तविक सम्पत्ति मूल्यांकन कार्य सम्पन्न गरिएको पनि बताउनुभयो । निर्देशक घिसिङले प्राधिकरणको तेस्रो वित्तीय पुनःसंरचना तयार गरी प्राधिकरण ऐन, २०४१ बमोजिम प्राधिकरणको शेयर सर्वसाधारणमा जारी गर्ने प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।

निर्देशक घिसिङले संस्थाको त्रेडिट रेटिङ आईसिआरए बाट एए प्लस प्राप्त गर्न सफल भएको समेत उल्लेख गर्नुभयो । उहाँले प्राधिकरणले बजेट र खर्च नियन्त्रणको लागि केन्द्रिकृत भुक्तानी एवं अनलाइन प्रणालीलाई प्रभावकारी बनाइएको बताउनुभयो । उहाँले विगत दुई वर्षमा प्राधिकरणले आफ्नै स्रोतबाट करिब ४८ अर्ब बराबरको रकम प्रशारण तथा वितरण प्रणालीमा विस्तार र सुधारमा लगानी गरिएको दाबी गर्नुभयो । उहाँले प्राधिकरणले सरकारको कोषमा सावाँ,ब्याज र रोयल्टी गरी करिव ३० अर्ब जम्मा गरेको पनि जानकारी दिनुभयो ।

निर्देशक घिसिङले आर्थिक वर्ष २०७७/७८ मा १७.३८ प्रतिशत रहेको विद्युत चुहावट ३.९२ प्रतिशतले घटेर अहिले १३.४६ प्रतिशत पुगेको बताउनुभयो । वितरणतर्फबाट विद्युत चुहावट ९.७६ प्रतिशत सिमित गरिएको घिसिङको भनाई छ । उहाँले दुई वर्ष अघिसम्म ८९ प्रतिशत नागरिकले राष्ट्रिय प्रशारण लाइनको विद्युत पाएकोमा अहिले ९५ प्रतिशत पुगेको बताउनुभयो ।

निर्देशक घिसिङले मधेश, बागमती र गण्डकी प्रदेशहरुमा सारभुत रुपमा पूर्ण विद्युतीकरण भएका छन् भने कोशी प्रदेशमा ९५ प्रतिशत,लुम्बीनी ९८, कर्णाली ६७ र सुदूरपश्चिम प्रदेशमा ८२ प्रतिशत विद्युतीकरण भएको दाबी गर्नुभयो । उहाँले ७५३ स्थानीय तहहरुमध्ये प्राधिकरणको प्रणालीबाट ५ सय ५ पूर्ण विद्युतीकरण भएका र १ सय २७ वटा स्थानीय तहहरुका अधिकांश स्थानमा र २१ स्थानीय तहहरुका अधिकांश स्थानहरुमा सोलार र साना तथा लघुजलविद्युतमार्फत विद्युतीकरण भएको बताउनु भयो ।

निर्देशक घिसिङले आगामी दुई वर्ष भित्र मुलुकभर विद्युतीकरण गर्ने सरकारको घोषणा कार्यान्वयन गर्ने सम्पूर्ण तयारी पूरा गरी काम भइरहेको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो दुई वर्षमा प्रतिव्यक्ति ऊर्जा खपत करिव २३५ युनिट रहेकोमा अहिले बढेर ३८० युनिट पुगेको बताउनुभयो । विगत २ वर्षमा उद्योगहरुको ८०० एमभिए विद्युत लोड स्वीकृत गरिएको घिसिङको भनाई छ ।

निर्देशक घिसिङले विद्युत प्राधिकरण भारतमा विद्युत निर्यात १० अर्ब ३५ करोड रुपैयाँ र आयात १९ अर्ब ४५ करोड रुपैयाको गरेको बताउनुभयो । उहाँले गत वर्षमा विद्युत निर्यात भन्दा आयात बढी भएको बताउनुभयो । उहाँले नेपालले पहिला पटक नोभेम्बर २०२१ देखि ३९ मेगावाट विद्युत भारत निर्यात शुरु गरी हाल करिव ४५० मेगावाट विद्युत निर्यात भैरहेको बताउनुभयो ।

निर्देशक घिसिङले भारत निर्यातको लागि करिव ६०० मेगावाट थप आयोजनाहरु भारतको विद्युत मन्त्रालयमा सहमति प्रक्रिया रहेको रहेको बताउनुभयो । उहाँले विहार र नेपालका विभिन्न स्थानमा जोडिएका १३२ के.भी प्रशारण लाइनहरुबाट बिहारको ग्रिड हुँदै भारतको केन्दीय ग्रिड प्रणालीबाट करिब ३०० मेगावाट विद्युत बिक्री गर्ने पि.टी.सी. ग्रिड इण्डिया, बिहार स्टेट पावर कर्पोरेशन र प्राविधकरणबीच त्रिपक्षीय सहमति भएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.