सुशासन र जनमैत्री सेवा प्रवाहमा तल्लीन रहन निर्देशन

0

काठमाडौं \ नेपाल सरकारका प्रधानमन्त्री र सङ्घीय सरकारका मन्त्रीहरूबिच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।  बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रम कार्यान्वयन कार्ययोजनाको समीक्षा तथा आ.व. २०८०/८१ को वार्षिक कार्यक्रम कार्यान्वयन सम्बन्धमा प्रधानमन्त्री र विभागीय मन्त्रीहरूबिच हुने कार्यसम्पादन सम्झौता हस्ताक्षर भएको हो ।

कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्रीपुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सङ्घीय सरकारका २१ वटा मन्त्रालयका मन्त्रीहरूले आफ्नो मन्त्रालयले गर्ने कामको कार्यसूचीसहित सम्झौतापत्र तयार पारी उक्त सम्झौतापत्रमा हस्ताक्षर गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कार्यसम्पादन सम्झौतामा प्रत्येक मन्त्रालयले गरेको कामको अलग अलग कार्यसूची तयार पारिएको छ । सम्झौतापत्रमा हासिल गर्नुपर्ने नतिजा सूचक राखिएको छ, जसमा नतिजा सूचक, भार, एकाइ, आर्थिक वर्ष २०७९/०८० को समग्र स्थिति र आर्थिक वर्ष २०८०/०८१ को लक्ष्य निर्धारण गरिएको छ ।

त्यसैगरी, सम्झौतापत्रमा सम्पादन गर्नुपर्ने प्रमुख कार्यहरू उल्लेख छ, जसमा कार्यक्रम र क्रियाकलापको सूची र सो जिम्मेवारी पूरा गर्नुपर्ने समयसीमा उल्लेख गरिएको छ ।

मन्त्रालयहरूले गर्नुपर्ने प्रमुख कार्यहरूमा नेपाल सरकारको आर्थिक वर्ष २०८०-०८१ को नीति, कार्यक्रम र बजेट, प्रधानमन्त्रीले विभिन्न समयमा प्रतिनिधि सभा र नेपाल सरकारका सचिवहरूलाई गर्नुभएको सम्बोधन, नेपाल सरकारको एकीकृत कार्ययोजना आदि सूचकलाई आधार बनाइएको छ ।

सम्झौतापत्रमा अनुगमन तथा अन्य व्यवस्था राखिएको छ, जसमा सङ्घीय सरकारको नीति, कार्यक्रम र बजेट तथा कार्यक्रम कार्यान्वयन कार्ययोजना कार्यसम्पादन सम्झौताको अङ्गका रूपमा रहने व्यवस्था छ । सम्झौतामा कार्यसम्पादनको प्रगति मासिक रूपमा प्रधानमन्त्री कार्यालयमा अनलाइन प्रणालीबाट पठाउनुपर्ने र त्यसलाई मासिक तथा वार्षिक प्रतिवेदन र मूल्याङ्कनको आधार बनाइने उल्लेख छ ।

कार्यसम्पादन सम्झौताको समयावधि १ वर्ष तोकिएको छ । साथै ‘यस सम्झौता अवधिभरमा मन्त्रीको पद रिक्त भएमा सो पदको कार्यभार सम्हाल्ने वा नयाँ नियुक्त हुने मन्त्रीले यस सम्झौताबमोजिमको बाँकी काम गर्नुपर्ने’ व्यवस्था सम्झौतापत्रमा उल्लेख छ ।

कार्यसम्पादन सम्झौतामा हस्ताक्षरपछि प्रधानमन्त्रीले सङ्घीय सरकारका मन्त्रीहरू र सचिवहरूलाई संयुक्त सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा प्रधानमन्त्रीले तोकिएको कार्यादेश र कार्यविवरण अनुसार प्रभावकारी काम गर्न सङ्घीय सरकारका मन्त्री र सचिवहरूलाई निर्देशन दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.