राजस्व अनुसन्धान विभागले १ सय किलो सुन प्रकरणको फाइल बुझायो प्रहरीलाई

0

राजस्व अनुसन्धान विभागले झन्डै एक सय किलो सुन तस्करी प्रकरण अनुसन्धानको काम नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । विभागका महानिर्देशक नवराज ढुंगानाले पत्रकार सम्मेलन गरेर सुन तस्करी अन्तरदेशीय सङ्गठित अपराध भएकाले विभागले थप छानबिन र मुद्दा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई दिएको जानकारी दिनुभयो ।

अनुसन्धानमा अहिलेसम्म भएको काम र पक्राउ परेका सबै आरोपितलाई पनि प्रहरीको जिम्मा लगाइएको महानिर्देशक ढुंगानाले बताउनुभयो । पक्राउ परेका आरोपित, बरामद सबुत प्रमाण र अनुसन्धानको प्रगति प्रतिवेदन विभागको टोली प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै अनुसन्धानको काम प्रहरीलाई दिन निर्देशन दिनुभएको थियो । सुन तस्करी प्रकरणको अनुसन्धान राजस्व र भन्सार छलीमा मात्रै गर्दा जरोसम्म पुग्न नसकिने भएकोले सङ्गठित अपराध, अन्तर्देशीय अपराध र आतङ्कवादसँग पनि जोडेर अनुसन्धान गर्न प्रहरीलाई दिने प्रधानमन्त्री प्रचण्डले बताउनुभएको छ ।

अब यो प्रकरणका अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अघि बढाउने छ । सीआईबीमा वित्तीय र सङ्गठित अपराध हेर्ने छुट्टै युनिट छन् । विभागले पहिलोपल्ट अनुसन्धान चल्दा चल्दै आफ्नो क्षेत्राधिकारको मुद्दा प्रहरीलाई दिएको हो ।

विभागले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिरिएको झन्डै एक सय किलो सुन बरामद गरेको थियो । तस्करहरूले हङकङबाट नेपाल ल्याएको सुन प्रकरणमा विमानस्थल भन्सारका तीन जना कर्मचारीसहित १८ जना पक्राउ परिसकेका छन् ।

Leave A Reply

Your email address will not be published.