‘लिटल नेपाल  नेबरहुड’ घोषणाका लागि पहल गर्छु : उम्मेदवार डिला खरेल

0

सिड्नी – एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदका उम्मेदवार डिला खरेल तथा उनको टिमले आफुहरु विजयी भएमा नेपालीहरुको बाक्लो बसोबास रहेको सिड्नीको क्षेत्रलाई  ‘लिटल नेपाल  नेबरहुड’ घोषणा गर्न पहल गर्ने जनाएको छ। ‘टिम डिला’ बाट न्यु साउथ वेल्स राज्यको संयोजक पदमा उम्मेदवारी दिएकी सन्ध्या शाहले आफु विजयी भएमा  एनआरएनए अष्ट्रेलियाको बैठकबाट औपचारिक निर्णय गरी स्थानीय निकायसंग समन्वय गरेर ‘लिटल नेपाल  नेबरहुड’ घोषणा गर्न लागि पर्ने बताइन्।

“हालै भारतीय प्रधानमंत्री नरेन्द्र मोदीको अष्ट्रेलिया भ्रमणको क्रममा सिड्नीको ह्यारिस पार्क क्षेत्रलाई ‘लिटल इन्डिया ‘नामाकरण गरिएको थियो। त्यस्तै नेपालीहरुको बाक्लो बसोबास रहेको रकड़ेल क्षेत्रलाई ‘लिटल नेपाल नेबरहुड’ घोषणा गर्न हामीले औपचारिक पहल गर्ने छौं,’ अध्यक्ष पदका उम्मेदवार डिला खरेलले भने। त्यस ठाउँमा अहिले हरेक ८ जनामा १ जना नेपाली रहेको बताउँदै उनीहरुको पहिचान स्थापित गरेर नेपाल र नेपालीलाई जोड्न साथै नेपालको व्यापार तथा पर्यटन प्रवर्द्धनमा मदत पुग्ने उनले बताए।

उनले आफुले जितेमा नेपाल स्थित  अष्ट्रेलियन राजदूतावास तथा नेपालका  स्थानीय निकायसंग समन्वय गरी काठमाडौँ उपत्यकाभित्र एक उपयुक्त स्थानमा ‘अष्ट्रेलिया पार्क’ बनाउने योजना पनि अगाडि सारेका छन्।

श्वेतपत्र प्रकाशन

यसैगरी अध्यक्ष उम्मेदवार खरेलले आफ्नो टिम विजयी भएमा अष्ट्रेलियाको शिक्षा, स्वास्थ्य, विज्ञान प्रविधि, खेलकुद, व्यापार व्यवसाय लगायत हरेक क्षेत्रमा योगदान गरेका नेपालीहरुको योगदानलाई समेटेर एक ‘श्वेतपत्र’ प्रकाशन गरिने बताएका छन्।  ” अष्ट्रेलियाली तथा अष्ट्रेलियास्थित नेपाली विज्ञहरु सम्मिलित एउटा कमिटि बनाएर एक श्वेतपत्र तयार गरी हामीले अष्ट्रेलियाका आठै राज्य तथा संघीय सरकारलाई बुझाउने छौं।  त्यसबाट अष्ट्रेलियाको सामाजिक तथा आर्थिक क्षेत्रमा नेपालीहरुको योगदानको एउटा आधिकारिक अभिलेख (रेकर्ड) तयार हुनुका साथै दुइ देश बीचको सम्बन्ध सुदृढ गर्न पनि मदत पुग्ने हाम्रो विश्वास छ,” खरेलले भने। यस्तै, अस्ट्रेलियाको समग्र अवस्थाको बारेमा बुझ्न सहज हुने उद्देश्यले युवा तथा विद्यार्थीका लागि हाते पुस्तक प्रकाशन गर्ने देखि जेष्ठ नागरिकका सवालहरुलाई सम्बोधन गर्ने सम्मका योजना ‘टिम डिला’ ले अघि सरेको छ।

‘ जात जाति वा गुट उपगुट भन्दा माथि उठेर अस्ट्रेलियास्थित नेपाली समुदायको हितमा हाम्रो टिमले अगाडी सारेको कार्ययोजनालाई खुलेर सघाउन तथा शनिबार, २९ जुलाईमा हुन गैरहेको मतदानमा हाम्रो टिमका सबै साथीहरुलाई अत्यधिक मत दिएर विजयी गराउन म अपिल गर्दछु,” खरेलले भने।

Leave A Reply

Your email address will not be published.