निर्दोष फस्दैन दोषी उम्कँदैन : गृहमन्त्री श्रेष्ठ

0

चितवन \  उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्दोष नफस्ने दोषीलाई नियन्त्रणमा लिन आफूले निर्देशन दिएको बताउनुभएको छ । शनिबार प्रेस सेन्टरले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले विभिन्न प्रकरणमा भइरहेका अनुसन्धानमा कुनै पनि हस्तक्षेप नहुने बताउनुभयो । तथ्य र प्रमाणका आधारमा दोषीलाई पक्राउ गरी थप अनुसन्धान गर्ने कार्यमा आफूले कुनै बाधा नगर्ने बताउनु भयो ।

‘‘कुनै पनि अनुसन्धानमा प्रहरीलाई सरकारले हस्तक्षेप गरेको छैन र गर्ने पनि छैन ।,’’ गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘हामीले प्रहरीलाई फलानालाई ल्याउनू, फलानालाई नल्याउनू भनेका छैनौँ । हामी त्यस्तो कुरा गर्दैनौँ । निर्दोष फस्ने र दोषी उम्किने हुँदैन । तपाईँहरू काम गर्नुस् भनेका छौँ । प्रहरीले त्यसैगरी कम गरिरहेको छ ।’’

तथ्य र प्रमाणका आधारमा कारबाही प्रक्रिया अघि बढेको बताउनुहुँदै गृहमन्त्री श्रेष्ठले यसमा प्रहरीलाई कुनै दबाब नदिएको बताउनुभयो । गृहमन्त्री श्रेष्ठले कसैले कोही मान्छे पक्राउ परोस् भन्ने चाहेर नभई तथ्य प्रमाणका आधारमा पक्राउ गरिएको जानकारी दिनुभयो । अनुसन्धानका क्रममा ढिलोचाँडो हुनसक्ने बताउनुहुँदै उहाँले कुनै पनि प्रकरणमा अनुसन्धानको काम नरोकिएको जिकिर गर्नुभयो ।

पत्रकार सम्मेलनमा प्रहरी र सिडियोले मिटरब्याज पीडितका मुद्दा नलिएर दुःख दिएको कुरा उठेपछि श्रेष्ठले भन्नुभयो, ‘‘सरकार सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा इमानदार छ, त्यस्तो भएको छैन, यदि भएको भए पनि कारबाहीको दायरामा ल्याइनेछ ।’’

चितवनमा उत्पादन भएको पशुका लागि तयार पारिने साइलेज चीन निर्यात गर्ने कार्यक्रमको उद्घाटनका लागि श्रेष्ठ चितवन आउनुभएको हो ।

Leave A Reply

Your email address will not be published.